काठमाडौं । रेशम चौधरीलाई टीकापुर नरसंहार प्रकरणमा दिइएको आममाफीविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि आज सुनुवाइ हुँदैछ।
राष्ट्रपति कार्यालयलाई विपक्षी बनाउँदै शारदा बोहरा कडायत ले दायर गरेको उक्त रिटमाथि सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजीज मुसलमान र श्रीकान्त पौडेल को संयुक्त इजलासमा बहस हुन लागेको हो। शारदा सो घटनामा ज्यान गुमाएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी हुन्।
टीकापुर हत्याकाण्डका प्रमुख योजनाकारका रूपमा दोषी ठहरिएका चौधरीविरुद्ध कैलाली जिल्ला अदालत र दिपायल उच्च अदालतले सुनाएको जन्मकैदको फैसला सर्वोच्च अदालतले समेत गत जेठ २ गते सदर गरेको थियो। तर, गणतन्त्र दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेल ले आममाफी दिएपछि उनी जेठ १५ गते डिल्लीबजार कारागारबाट रिहा भएका थिए।
यदि आममाफी नदिइएको भए चौधरीले अझै करिब १४ वर्ष कारावास भोग्नुपर्ने अवस्था थियो, जसअनुसार उनी २०९४ सालसम्म जेलमै रहने थिए। तर आममाफीपछि उनको बाँकी कैद सजाय मिनाहा गरिएको हो।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको सिफारिसमा गरिएको उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै शारदा बोहरा कडायत न्यायको मागसहित सर्वोच्च अदालत पुगेकी हुन्।
२०७२ साल भदौ ७ गते नयाँ संविधान जारी हुनुअघि थरुहट प्रदेशको मागमा भएको आन्दोलन हिंसात्मक बन्दा कैलालीको टीकापुरमा एक बालकसहित सात सुरक्षाकर्मी गरी आठ जनाको निर्मम हत्या भएको थियो।
प्रकाशित मिति: ५ चैत्र २०८२, बिहिबार













प्रतिक्रिया