काठमाडौं । महानायक राजेश हमालको नाम दुरुपयोग गरी सार्वजनिक रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।
अख्तियारले अछामको ढकारी गाउँपालिका का अध्यक्ष प्रकाशबहादुर साउद, निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साह र लेखापाल विमल साउदलाई सार्वजनिक सम्पत्ति दुरुपयोग गरी भ्रष्टाचार गरेको आरोपमा प्रतिवादी बनाएको छ। सो प्रकरणमा आर.जे. ट्वान्टी फोर न्युज र नव इन्द्रेणी फाउन्डेसन का अध्यक्ष रामजी लम्साल पनि प्रतिवादी बनाइएको छ।
अख्तियारका अनुसार राजेश हमालको नाम र तस्बिर प्रयोग गरेर निर्माण गर्ने भनिएको वृत्तचित्रका लागि १५ लाख रुपैयाँ बजेट छुट्याइएको थियो, जसमा १२ लाख ७७ हजार २५० रुपैयाँ भुक्तानी गरिएको थियो। तर, उक्त रकम सार्वजनिक खरिद ऐन र नियमावलीको उल्लङ्घन गर्दै बिना प्रतिस्पर्धा र प्रक्रिया मिचेर सोझै सम्झौता गरी पेस्की दिइएको, बैंक ग्यारेन्टी नलिई रकम भुक्तानी गरिएको पाइएको छ।
अनुसन्धानमा वृत्तचित्र निर्माणका लागि पेश गरिएका बिलहरू शङ्कास्पद र नक्कली रहेको तथा काम नै नगरी सरकारी रकम हिनामिना गरिएको देखिएको अख्तियारले जनाएको छ।
अख्तियार प्रवक्ता सुरेश न्यौपाने का अनुसार अध्यक्ष साउदले आफ्नो पदको दुरुपयोग गर्दै आफू र अन्य प्रतिवादीलाई लाभ पुर्याउनका लागि यो योजना बनाएको पुष्टि भएको छ।
आयोगले प्रतिवादीहरूलाई भ्रष्टाचार निवारण ऐनको दफा १७ र २२ अनुसार दण्डनीय ठहर गर्दै हदैसम्मको सजायको माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
प्रकाशित मिति: ५ चैत्र २०८२, बिहिबार













प्रतिक्रिया