काठमाडौं। वर्षमान पुन ‘अनन्त’ले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पुनः सशक्त रूपमा उठ्ने बताएका छन्।

काभ्रेको अनेकोटमा २८औँ शहीद सांस्कृतिक दिवसका अवसरमा आयोजित शहीदको प्रतिमा अनावरण तथा शहीद परिवार सम्मान कार्यक्रममा बोल्दै उनले पार्टी अहिलेको पराजयबाट विचलित नहुने र पुनर्गठनमार्फत अघि बढ्ने बताए।

advertisement

उनले फागुन २१ गते सम्पन्न निर्वाचनमा नेकपाले प्रत्यक्षतर्फ आठ सिट मात्र जितेको उल्लेख गर्दै परिणाम अपेक्षाअनुसार नआए पनि निराश नहुन आग्रह गरे। जनआकांक्षा र मुलुकको आवश्यकताअनुसार पार्टीलाई पुनर्गठन गरेर भविष्यमा पुनः नेतृत्वमा पुग्ने दाबी उनले गरे।

पुनले आफूहरू रूपान्तरण र सुशासनको एजेन्डा लिएर निर्वाचनमा सहभागी भए पनि जनताले नेकपालाई पुरानै राजनीतिक शक्तिसँग तुलना गरेर मत दिएको स्वीकार गरे। उनले शान्तिपूर्ण प्रदर्शनमा हिंसात्मक कार्यको पक्षमा आफूहरू नरहेको स्पष्ट पार्दै पार्टीलाई गलत रूपमा बुझिएको बताए।

उनले भने, “हामी पुराना भए पनि उस्तै खालका पुराना होइनौँ। हामीले अवस्था बदल्ने प्रयास गरेका छौँ र फेरि जनतामाझ जानेछौँ।”

उनले विगतमा १० वर्षे जनयुद्धका क्रममा समेत अनेकौं चुनौती र क्षति बेहोरे पनि आन्दोलन नरोकेको स्मरण गर्दै अहिलेको अवस्थालाई आत्मसमीक्षा गर्ने अवसरका रूपमा लिनुपर्ने बताए। विचार, राजनीति, संगठन र कार्यशैलीको पुनर्मूल्यांकन गरेर जनताको भावनाअनुसार अघि बढ्नुपर्ने उनले जोड दिए।

पुनका अनुसार जनताले निर्वाचनमार्फत नयाँ दलहरूलाई समर्थन गर्दै पुराना दललाई कार्यशैली सुधार्न स्पष्ट सन्देश दिएका छन्। उनले यसलाई सच्यिने अवसरका रूपमा लिनुपर्ने बताए।

उनले पुष्पकमल दाहाल ले सीमित कार्यकर्ताबाट सुरु गरेको जनयुद्धले नै गणतन्त्र, संघीयता, समावेशिता र धर्मनिरपेक्षताजस्ता उपलब्धि दिलाएको उल्लेख गर्दै फेरि रूपान्तरणसहित अघि बढ्न सबैलाई आह्वान गरे।

प्रकाशित मिति: ६ चैत्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com