काठमाडौं । नेपाल जेन–जी फ्रन्टले आफ्ना संयोजक रक्षा बममाथि भएको दुर्व्यवहारप्रति कडा आपत्ति जनाउँदै त्यसको भर्त्सना गरेको छ।
शुक्रबार जारी गरिएको प्रेस विज्ञप्तिमा फ्रन्टले बिहीबार माइतीघर मण्डलमा भइरहेको शान्तिपूर्ण प्रदर्शनका क्रममा बममाथि भएको व्यवहारलाई अस्वीकार्य र लोकतान्त्रिक संस्कारविपरीतको कदम भएको जनाएको छ।
भदौ २३ र २४ का घटनाबारे निष्पक्ष छानबिन गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जेन–जी समूहहरू केही समयदेखि माइतीघरमा निरन्तर प्रदर्शन गर्दै आएका छन्। सोही क्रममा आन्दोलनकारीमाथि नै दुर्व्यवहार हुनु अत्यन्त निन्दनीय भएको फ्रन्टको धारणा छ।
फ्रन्टले सहिद र घाइतेहरूको बलिदानप्रति जिम्मेवार बन्दै शान्तिपूर्ण रूपमा उठाइएको आवाजमाथि आक्रमण हुनु दुःखद र असहनीय भएको उल्लेख गरेको छ।
विज्ञप्तिमा संयोजक रक्षा बमलाई आन्दोलनको सुरुदेखि नै लोकतान्त्रिक मूल्य र मान्यताको पक्षमा अडिग र निडर नेतृत्वका रूपमा प्रस्तुत गरिएको छ। आन्दोलनभित्र मतभेद, पीडा र आक्रोश हुनु स्वाभाविक भए पनि त्यसको लक्ष्य आन्दोलनकारी नभई राज्यतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिइएको छ।
साथै, राज्यले अझैसम्म सत्य तथ्य लुकाएर प्रतिवेदन सार्वजनिक नगरेको अवस्थामा आफ्नै साथीहरूमाथि हुने यस्ता व्यवहारले आन्दोलनलाई कमजोर बनाउने चेतावनी दिइएको छ।
फ्रन्टले यस्ता अवरोध र आक्रमणका बाबजुद पनि आफ्नो आन्दोलन, प्रतिबद्धता र मनोबलमा कुनै कमी नआउने स्पष्ट पारेको छ।
प्रकाशित मिति: ६ चैत्र २०८२, शुक्रबार













प्रतिक्रिया