काठमाडौं । देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटना मा परी तीन जनाको ज्यान गएको छ। दाङ, प्युठान र चितवनमा भएका घटनामा तीन जनाले ज्यान गुमाएका हुन्।
दाङको तुलसीपुर उपमहानगरपालिका–९ दुधेनास्थित सडकमा बिहीबार बेलुकी स्कुटर र टिपर एकआपसमा ठोक्किँदा स्कुटरमा सवार ५० वर्षीया पुष्पा कँडेलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यस्तै, प्युठान नगरपालिका–८ पाडाबाङमा टिपरले पैदलयात्रीलाई ठक्कर दिँदा ४४ वर्षीय अशोक परियारको घटनास्थलमै ज्यान गएको छ। उनलाई ठक्कर दिने सवारीका चालक पनि प्रहरी नियन्त्रणमा छन्।
त्यसैगरी चितवनको राप्ती नगरपालिका–२ गड्यौलीमा मोटरसाइकल र बोलेरो जिप एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक २७ वर्षीय दिपेश उप्रेती गम्भीर घाइते भएका थिए। उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेज लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको हो। उक्त घटनामा संलग्न बोलेरो चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
तीनै सवारी दुर्घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ६ चैत्र २०८२, शुक्रबार













प्रतिक्रिया