काठमाडौं । सालमनीदेवी हाइड्रोपावर लिमिटेडले आफ्नो चौथो वार्षिक साधारण सभा शुक्रबार गौशालास्थित होटल बद्रीनाथमा सम्पन्न गरेको छ।
सभाले कम्पनीको जारी पूँजीको २० प्रतिशत बराबर अर्थात् १० लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ।
डोटीस्थित कापडीगाड जलविद्युत् आयोजनामार्फत ३.३ मेगावाट विद्युत् उत्पादन गर्दै आएको कम्पनीले २०७६ सालदेखि व्यावसायिक उत्पादन सुरु गरेको हो।
यसै सभाबाट नयाँ सञ्चालक समिति पनि चयन गरिएको छ। अध्यक्षमा उमा दाहाल निर्वाचित भएकी छन्। सदस्यहरूमा पेरश दाहाल, सुभाषचन्द्र भण्डारी र भीमनाथ खरेल चयन भएका छन् भने स्वतन्त्र सञ्चालकका रूपमा ग्रेस रौनियार नियुक्त भएकी छन्।
कम्पनीले आईपीओमार्फत पूँजी संकलन गरी ऊर्जा क्षेत्रमा थप परियोजना विस्तार गर्ने योजना अघि सारेको छ।
कार्यक्रमको समापनमा अध्यक्ष दाहालले कम्पनीको प्रगतिमा शेयरधनी, कर्मचारी, स्थानीय समुदाय तथा सरोकारवाला सबै पक्षको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै धन्यवाद व्यक्त गरिन्। साथै, आगामी दिनमा अझ ठूला परियोजनासहित अघि बढ्दै कम्पनीलाई ऊर्जा क्षेत्रमा विश्वसनीय र अग्रणी संस्थाका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
प्रकाशित मिति: ६ चैत्र २०८२, शुक्रबार












प्रतिक्रिया