काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा भोगेको पराजयका कारणहरूबारे समीक्षा गर्दै गठबन्धन सरकारको कार्यशैलीलाई समेत मुख्य कारणमध्ये एक ठहर गरेको छ।
पार्टी उपसभापति विश्वप्रकाश शर्माले केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत गरेको चुनावी समीक्षा प्रतिवेदनमा दुई ठूला दल मिलेर सरकार गठन भएपछि जनतामा उच्च अपेक्षा सिर्जना भए पनि सरकारको कार्यसम्पादन औसत मात्र रहेको उल्लेख गरिएको छ। प्रतिवेदनमा भनिएको छ— यसले नागरिकमा नयाँ विश्वास र आशा जगाउन सकेन।
प्रतिवेदनमा कांग्रेस–एमालेबीच भएको ७ बुँदे सहमतिका प्रमुख विषयहरू कार्यान्वयन हुन नसक्नु पनि पराजयको कारणका रूपमा औंल्याइएको छ। संविधान संशोधनका लागि कार्यदलसमेत गठन नहुनु, संघीयता कार्यान्वयनमा ढिलाइ हुनु, प्रदेशलाई आवश्यक अधिकार हस्तान्तरण हुन नसक्नु जस्ता विषयले जनतामा असन्तुष्टि बढाएको उल्लेख छ।
त्यसैगरी, विद्यालय शिक्षा विधेयक र निजामती सेवासम्बन्धी विधेयक समयमा टुंगोमा पुग्न नसक्दा विभिन्न क्षेत्र असन्तुष्ट बनेको प्रतिवेदनमा जनाइएको छ। बजेट निर्माण प्रक्रियामा देखिएको विवाद र संसद्मै व्यक्त असन्तुष्टिले पनि जनतामा नकारात्मक सन्देश गएको निष्कर्ष निकालिएको छ।
यसका साथै, सामाजिक सञ्जालसम्बन्धी नीतिगत निर्णयहरूलाई पनि पराजयसँग जोडिएको छ। गठबन्धनबीच पर्याप्त सहमति बिना सामाजिक सञ्जाल बन्द गर्ने प्रयास गरिएको भन्दै त्यसले उल्टै असन्तुष्टि बढाएको र ‘जेनजी’ आन्दोलनका लागि आधार तयार गरेको उल्लेख गरिएको छ।
समग्रमा, सरकारको कमजोर कार्यसम्पादन, नीतिगत ढिलाइ र जनअपेक्षा अनुसार काम हुन नसक्दा चुनावी परिणाम प्रतिकूल बनेको निष्कर्ष प्रतिवेदनमा प्रस्तुत गरिएको छ।
प्रकाशित मिति: ६ चैत्र २०८२, शुक्रबार












प्रतिक्रिया