काठमाडौं । रोशी खोलाको पानी सडकमा पसेपछि वीपी राजमार्ग अवरुद्ध भएको छ। शनिबार बिहान करिब ३:३० बजे काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका क्षेत्रका विभिन्न स्थानमा खोला उफ्रिएर सडकमा पसेको हो।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार चारसयबेशी, गिम्दी, बाउन्ने र कालढुङ्गा क्षेत्रमा पानी पसेपछि राजमार्ग पूर्ण रूपमा बन्द भएको छ। निरन्तर वर्षाका कारण रोशी खोलाको बहाव बढ्दै सडकसम्म पुगेको प्रहरीले जनाएको छ।
हाल प्रहरीले सम्बन्धित निकायसँग समन्वय गर्दै सडक खुलाउने प्रयास गरिरहेको छ। जिल्ला ट्राफिक कार्यालय काभ्रेले यात्रुहरूलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ।
प्रकाशित मिति: ७ चैत्र २०८२, शनिबार













प्रतिक्रिया