काठमाडौँ । हिजरी पात्रो अनुसार नवौँ महिनामा निराहार व्रत पूरा गरेका देशभरका मुस्लिम समुदायले आज इद–उल–फित्र पर्व मनाउँदै छन्। उनीहरूले विशेष नमाज पढेर ठूला बडाबाट आशीर्वाद लिएका छन्।

विशेष नमाज पढिसकेपछि मुस्लिम धर्मावलम्बी तीन दिनसम्म आफूभन्दा जेठा बडाकहाँ गएर आशीर्वाद लिन्छन् भने साना–सानालाई आशीर्वाद दिने चलन छ। आशीर्वाद लिन आएका आफन्तलाई सेवई, खजुर र अन्य मिष्ठान्न परिकार खुवाउने परम्परा पनि रहिआएको छ।

advertisement

इद–उल–फित्रको नामकरण पनि यसै पर्वको विशेषतासँग जोडिएको छ, किनभने यस दिन खुसीपूर्वक दान दिँदै दीन दुःखी र गरीबलाई राहत दिने प्रचलन छ। मुस्लिम धर्मावलम्बी तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सतारका अनुसार, अरबी पात्रो अनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इद मनाउने कार्यक्रम तय गरिन्छ।

शनिबार बिहान नेपाली जामे मस्जिद, घन्टाघरमा विशेष नमाज हुने छ र त्यसपछि ठूला बडाबाट आशीर्वाद लिन सुरु हुन्छ। यसैगरी देशभरका मस्जिद र इदगाहमा पनि विशेष कार्यक्रमसँगै नमाज पाठ गरिन्छ।

मुस्लिम धर्मग्रन्थ कुरानका अनुसार, प्रत्येक व्यक्तिले एक वर्षभित्रको बचतको करिब साढे दुई प्रतिशत नगद वा जिन्सी दान (जकात) गर्नु पर्ने हुन्छ। यसरी दान गरिएका सामान दीन दुःखी र गरीबलाई बाँडिन्छ। इद–उल–फित्रमा प्रत्येकले आफ्नो गच्छे अनुसार गहुँ वा सो बराबरको नगद दान (सत्कार फितर) गर्नुपर्छ, जसमा आमाको पेटमा रहेको बच्चाको लागि पनि दान गर्नुपर्ने नियम छ।

मुस्लिम समुदायले आजभन्दा एक महिना अघि सुरु भएको एक महिना लामो रोजा (निराहार व्रत) पुरा गरेका छन्। एक महिनासम्म सूर्योदयदेखि सूर्यास्तसम्म व्रत राखेर साँझ चन्द्रमाको पूजा गरिने चलन छ।

यो अवसरमा मुस्लिम धर्मावलम्बीले नयाँ कपडा लगाएर साथीभाइ तथा परिवारजनसँग इदको शुभकामना आदानप्रदान गर्ने गर्दछन्। यस वर्ष सरकारले इद–उल–फित्रका अवसरमा सार्वजनिक बिदा दिएको गृह मन्त्रालयले जानकारी दिएको छ।

प्रकाशित मिति: ७ चैत्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com