काठमाडौं । शनिबार बेलुकी पाल्पामा भएको टिपर दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ।
मृत्यु हुनेमा अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–४ सिद्धारका २६ वर्षीय चिन्ताबहादुर सुनार, सोही ठाउँका २६ वर्षीय सुनिल विक, रुपन्देही देवदह नगरपालिका–२ खैरेनीका २६ वर्षीय सुनिल नेपाली र तानसेन नगरपालिका–१० पटुवाका ३३ वर्षीय राजन चिदी रहेका छन्। चिदीको भैरहवा मेडिकल कलेज, रुपन्देहीमा उपचारका क्रममा मृत्यु भएको हो, जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिएका छन्।
दुर्घटना माथागढी गाउँपालिका–७ रहबासस्थित झडेवा–रहबास भित्री कच्ची सडकखण्डमा भएको हो। लु२ख ४५२५ नम्बरको खाली टिपर झडेवाबाट रहबास चुनढुङ्गा खानीतर्फ जाँदै गर्दा करिब ५० मिटर तल खसेको थियो। दुर्घटनाको थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रकाशित मिति: ८ चैत्र २०८२, आइतबार













प्रतिक्रिया