एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रणनीतिक रूपमा महत्वपूर्ण स्ट्रेट अफ हर्मुज खुला गर्न इरान लाई ४८ घन्टे अल्टिमेटम दिएका छन्।
आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसियल मार्फत ट्रम्पले हर्मुज जलमार्ग तत्काल पूर्ण रूपमा सञ्चालनमा ल्याउन चेतावनी दिएका हुन्। तोकिएको समयभित्र मार्ग नखुलाए इरानका प्रमुख विद्युत उत्पादन केन्द्रहरूमा आक्रमण गर्ने उनले स्पष्ट पारेका छन्।
ट्रम्पले लेखेका छन्, ‘यदि ४८ घन्टाभित्र हर्मुज पूर्ण रूपमा सञ्चालनमा आएन भने अमेरिकाले इरानका विभिन्न विद्युत केन्द्रहरू ध्वस्त पार्नेछ, र कारबाही सबैभन्दा ठूलो केन्द्रबाट सुरु हुनेछ।’
विश्वव्यापी ऊर्जा आपूर्तिमा अत्यन्त महत्वपूर्ण मानिने हर्मुज जलमार्ग हुँदै विश्व बजारमा पुग्ने २० प्रतिशतभन्दा बढी पेट्रोलियम पदार्थ ढुवानी हुने गर्दछ। हाल इरानले अमेरिकी, इसराइली तथा तिनलाई समर्थन गर्ने मुलुकका जहाजहरूलाई लक्षित गर्दै आक्रमण गरिरहेको कारण यो मार्ग प्रभावकारी रूपमा अवरुद्धजस्तै बनेको छ।
तर, भारत का जहाजहरूलाई भने इरानले आवतजावत गर्न दिएको बताइएको छ। इरानका पूर्व सर्वोच्च नेता आयातोल्लाह अली खामेनी को निधनप्रति भारतले समवेदना व्यक्त गरेपछि यस्तो सहुलियत दिइएको दाबी गरिएको छ।
हर्मुज अवरुद्ध भएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ। युद्ध सुरु हुनुअघि करिब ७० डलर प्रतिब्यारेल रहेको मूल्य तीन साताभित्रै १०० डलर नाघेको छ। संयुक्त राज्य अमेरिका ले आफ्नो भण्डारबाट तेल आपूर्ति बढाए पनि मूल्य नियन्त्रणमा आउन सकेको छैन।
यता, हाल इरानको नेतृत्वमा रहेका मोज्तबा खामेनी लाई उनका बुवा अली खामेनीभन्दा अझ कठोर धारको नेता मानिन्छ। उनले हर्मुज क्षेत्रमा आक्रमण जारी राख्न इरानी सैन्य बललाई निर्देशन दिएको बताइएको छ।
यसअघि ट्रम्पले इरानमाथिको सैन्य कारबाहीका अधिकांश उद्देश्य पूरा भइसकेको दाबी गर्दै मिसाइल क्षमता, प्रतिरक्षा प्रणाली र आणविक कार्यक्रमलाई गम्भीर क्षति पुर्याइएको बताएका थिए। त्यसपछि कारबाही घटाउने संकेत दिएका उनी, शनिबार पुनः कडा चेतावनीसहित आक्रामक अभिव्यक्तिमा फर्किएका हुन्।
हर्मुज जलमार्गको सुरक्षाबारे ट्रम्पले उक्त मार्ग प्रयोग गर्ने अन्य मुलुकहरूले पनि जिम्मेवारी लिनुपर्ने बताएका छन्। आवश्यक परे अमेरिका सहयोगका लागि तयार रहने उनले बताए पनि इरानको सैन्य क्षमता कमजोर पारिसकिएकाले पुनः हस्तक्षेप आवश्यक नपर्ने दाबी गरेका छन्।
प्रकाशित मिति: ८ चैत्र २०८२, आइतबार













प्रतिक्रिया