काठमाडौं । सरकारले केन्द्रिकृत नागरिकता व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीबीच अन्तरआबद्धता गर्दै सेवा प्रवाह सुरु गरेको छ।
गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार जिल्ला प्रशासन कार्यालय ललितपुरको निरीक्षणका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उक्त व्यवस्था लागू गरिएको जानकारी दिएका हुन्।
यस नयाँ प्रणालीसँगै अब सेवाग्राहीहरूले एउटै प्रकृतिका विवरणका लागि विभिन्न सरकारी निकायमा छुट्टाछुट्टै फारम भर्नुपर्ने झन्झट हटेको छ। साथै राष्ट्रिय परिचयपत्र बनाउनका लागि छुट्टै आवेदन फारम भरी बायोमेट्रिक विवरण दिन अनिवार्य रूपमा परिचयपत्र इकाईमा धाउनुपर्ने बाध्यता पनि अन्त्य भएको मन्त्री अर्यालले बताए।
उनका अनुसार दुवै प्रणालीबीचको अन्तरआबद्धताले सेवा प्रक्रियालाई सरल, सहज र नागरिकमैत्री बनाउँदै समय र खर्च दुबै बचत गर्नेछ। ‘अब नागरिकले एउटै विवरण बारम्बार भर्नु पर्ने झन्झट हट्दै भलन्झटरहित सेवा प्राप्त गर्न सक्नेछन्,’ उनले भने।
हाल केही सेवा केन्द्रबाट उक्त प्रणालीमार्फत सेवा सुरु भइसकेको जानकारी दिँदै उनले यसलाई क्रमशः देशभर विस्तार गरिने बताए।
सरकारको यस पहलले सेवाग्राहीले राष्ट्रिय परिचयपत्रका लागि अलग्गै आवेदन प्रक्रिया पूरा गर्नुपर्ने अवस्था हटाउँदै सेवा प्रवाहलाई अझ प्रभावकारी र पहुँचयोग्य बनाउने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: ८ चैत्र २०८२, आइतबार













प्रतिक्रिया