एजेन्सी । इरानले अमेरिका र इजरायलसँग जारी तनावका बीच पहिलो पटक लामो दूरीमा प्रहार गर्न सक्ने क्षेप्यास्त्र प्रयोग गरेको छ।

शनिबार इरानले हिन्द महासागरस्थित डिएगो गार्सिया मा रहेको अमेरिका–बेलायतको संयुक्त सैन्य अड्डालाई लक्षित गर्दै ब्यालिस्टिक मिसाइल प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्स ले जनाएको छ। उक्त अड्डा तेहरानबाट करिब ४ हजार किलोमिटर टाढा रहेको बताइएको छ।

advertisement

तीन सातादेखि जारी द्वन्द्वका क्रममा इरानले पहिलो पटक यति टाढासम्म प्रहार गर्न सक्ने क्षेप्यास्त्र प्रयोग गरेको हो। यसले इरानको सैन्य क्षमता उल्लेखनीय रूपमा विस्तार भएको र आवश्यक परे युरोपेली मुलुकसम्म पनि आक्रमण गर्न सक्ने संकेत गरेको विश्लेषण गरिएको छ।

यसअघि इरानका अधिकांश मिसाइलहरूको मारक दूरी ३०० देखि करिब २ हजार किलोमिटरसम्म सीमित थियो, जसले मुख्यतः मध्यपूर्व क्षेत्रभित्रका लक्ष्य—विशेषगरी इजरायल र खाडी क्षेत्रमा रहेका अमेरिकी अड्डाहरूलाई मात्र समेट्थ्यो। तर हाल प्रयोग गरिएको करिब ४ हजार किलोमिटर दूरीसम्म पुग्ने क्षेप्यास्त्रले इरानको पहुँच अझ फराकिलो भएको देखाएको छ।

इजरायली सेनाका प्रमुख इयाल जमिर ले उक्त आक्रमण हिन्द महासागरस्थित अमेरिकी–बेलायती सैन्य अड्डालाई लक्षित गरिएको पुष्टि गरेका छन्। यद्यपि यसबाट भएको क्षतिको विवरण सार्वजनिक गरिएको छैन।

यसैबीच, शनिबार राति इरानले इजरायलका दक्षिणी सहर डिमोना र अराद मा पनि मिसाइल आक्रमण गरेको छ, जसमा दर्जनौँ व्यक्ति घाइते भएका छन्। डिमोना क्षेत्र इजरायलको गोप्य आणविक रियाक्टर नजिकै पर्ने स्थानका रूपमा परिचित छ।

रोयटर्सका अनुसार आक्रमणका क्रममा इजरायलको प्रतिरक्षा प्रणालीले प्रभावकारी रूपमा अवरोध गर्न नसक्दा केही भौतिक क्षति भएको छ।

उता, अमेरिका भने इरानमा अब लक्षित गर्न बाँकी स्थान धेरै नरहेको दाबी गर्दै आएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानमाथिको आक्रमण घटाउने विषयमा समेत विचार भइरहेको बताएका छन्।

प्रकाशित मिति: ८ चैत्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com