काठमाडौं । अमेरिका र इजरायल सँगको द्वन्द्व चौथो हप्तामा प्रवेश गरेसँगै इरानले विश्वकै महत्वपूर्ण व्यापारिक मार्ग मानिने हर्मुज जलसन्धि अनिश्चितकालका लागि बन्द गर्ने धम्की दिएको छ। इरानी सशस्त्र बलको मुख्यालयले यदि अमेरिकाले इरानको ऊर्जा सुविधाहरूमा बमबारी गरेमा प्रतिशोधस्वरुप जलसन्धि बन्द गर्ने चेतावनी दिएको हो।
इरानी संसदका सभामुख मोहम्मद बाकर कालीबाफले अमेरिकालाई चेतावनी दिँदै यदि इरानको ऊर्जा पूर्वाधारमा आक्रमण भएमा यस क्षेत्रमा रहेका अमेरिकी सैन्य बजेट लगानी गर्ने वित्तीय संस्थाहरू र पूर्वाधारहरूलाई वैध निशाना बनाइने बताएका छन्। उनले सामाजिक सञ्जाल एक्समा लेख्दै भनेका छन,‘हाम्रो ऊर्जा केन्द्रमा प्रहार भएमा यस क्षेत्रका सबै तेल र ऊर्जा सुविधाहरू नष्ट गरिनेछ र तेलको मूल्य लामो समयसम्म उच्च रहनेछ।’
उनले अमेरिकी ट्रेजरी बण्ड खरिद गर्नेहरूलाई समेत सचेत गराउँदै ती क्षेत्रमा निगरानी गरिरहेको उल्लेख गरेका छन् । यसअघि अमेरिकी राष्ट्रपतिले ४८ घण्टाभित्र हर्मुज जलसन्धि ढुवानीका लागि नखुलाइए इरानी पूर्वाधारमा बमबारी गर्ने चेतावनी दिएका थिए। अमेरिकी सेन्ट्रकमले अन्तर्राष्ट्रिय जहाज सञ्चालनमा बाधा पुरÞ्याउने इरानी नौसैनिक लक्ष्यहरूलाई नष्ट गरिरहेको जनाएको छ।
यसैबीच, इजरायली रक्षा बल (आईडीएफ) ले सोमबार तेहरानका विभिन्न रणनीतिक स्थानहरूमा नयाँ चरणको हवाई आक्रमण सुरु गरेको छ। आईडीएफका अनुसार तेहरानमा रहेका सैन्य तालिम केन्द्र, मिसाइल भण्डारण गृह, हतियार उत्पादन स्थल र गुप्तचर मन्त्रालयको मुख्यालयमा क्षति पुर्याइएको छ।
इरानले इजरायलमा गरेको पछिल्लो ब्यालिस्टिक मिसाइल आक्रमणका कारण मध्य इजरायलमा १५ जना घाइते भएका छन् भने कैयौं घर र सडकमा क्षति पुगेको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानलाई ‘सभ्यता र स्वतन्त्र विश्वको शत्रु’को संज्ञा दिँदै अमेरिका र इजरायलले इरानी आतंकवादी शासनविरुद्ध कडा शक्ति प्रयोग गरिरहने बताएका छन्।
पछिल्लो समय विकसित यी घटनाक्रमले मध्यपूर्वमा ठूलो युद्धको खतरा बढाइदिएको छ, जसले विश्वको ऊर्जा आपूर्ति र आर्थिक स्थिरतामा गम्भीर असर पार्ने देखिएको छ ।
प्रकाशित मिति: ९ चैत्र २०८२, सोमबार













प्रतिक्रिया