काठमाडौं । रवि लामिछानेसँग सम्बन्धित मुद्दा फिर्ता प्रकरणमा सर्वोच्च अदालतमा सोमबार सुनुवाइ हुने तय भएको छ।
न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा उक्त मुद्दाको पेसी तोकिएको हो। यसअघि चैत ५ गते भएको सुनुवाइपछि न्यायाधीश सारंगा सुवेदी र सुनीलकुमार पोखरेलको इजलासले अर्को इजलासमा सोमबारका लागि सुनुवाइ राख्न आदेश दिएको थियो।
सोही आदेशअनुसार अहिले सुनुवाइको प्रक्रिया अघि बढाइएको छ। सर्वोच्च अदालतको निर्देशनबमोजिम महान्यायाधिवक्ता कार्यालयले अघिल्लो निर्णय संशोधनसम्बन्धी फाइल अदालतमा पेश गरिसकेको छ।
महान्यायाधिवक्ता सविता भण्डारीले माघ २ गते लामिछानेसहित अन्य आरोपितहरूका हकमा आरोपपत्र संशोधन गर्ने निर्णय गरेकी थिइन्। सो निर्णयअनुसार काठमाडौं, कास्की, पर्सा र रुपन्देही जिल्ला अदालतमा दर्ता भएका संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा संशोधन गर्न सम्बन्धित जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिइएको थियो, जसले कानुनी विवाद निम्त्याएको छ।
उक्त निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुस बडाल र युवराज पौडेल ‘सफल’ले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन्।
यसअघि पुस ३० गते महान्यायाधिवक्ता भण्डारीले लामिछानेमाथि सहकारी ठगी मुद्दामात्र अघि बढाउन निर्देशन दिँदै संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा संशोधनमार्फत फिर्ता लिन सम्बन्धित निकायलाई पत्र पठाएकी थिइन्।
प्रकाशित मिति: ९ चैत्र २०८२, सोमबार













प्रतिक्रिया