काठमाडौं। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अमेरिकाले इरानको ऊर्जा प्रतिष्ठानमा आक्रमण गरे होर्मुज जलडमरू पूर्ण रूपमा र सधैंका लागि बन्द गर्ने चेतावनी दिएको छ ।
आईआरजीसीका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ,
‘यदि इरानको ऊर्जा प्रतिष्ठानमा आक्रमण भयो भने, हाम्रा ध्वस्त पावर प्लान्टहरू पुनर्निर्माण नभएसम्म होर्मुजको जलडमरू खोलिने छैन ।
यो सधैंका लागि बन्द हुनेछ ।’
इरानी विदेशमन्त्री अब्बास अराघचीले पनि होर्मुज जलडमरू बन्द नभएको तर अमेरिका र इजरायलको आक्रामक मनोवृत्तिका कारण जहाजहरू यस बाटोबाट जान हिच्किचाउने गरेको बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई होर्मुज जलडमरू खोल्न ४८ घण्टाको समयसीमा दिँदै नखोले पावर प्लान्टहरू ध्वस्त पार्ने चेतावनी दिएपछि आईआरजीसीले यो कडा जवाफ दिएको हो ।
ट्रम्पले मार्च २१ मा भनेका थिए,
“इरानले होर्मुज जलडमरू पूर्ण रूपमा खोल्नुपर्छ ।
यदि ४८ घण्टाभित्र खोलिएन भने अमेरिकाले पावर प्लान्टहरूमा आक्रमण गर्ने छ र ध्वस्त पार्नेछ ।”
इरानले अमेरिकी हिस्सेदारी भएका सबै कम्पनीलाई पनि लक्षित कारबाहीको चेतावनी दिएको छ ।
होर्मुज जलडमरूको महत्व
होर्मुज जलडमरू इरानसँग जोडिएको छ र यो फारसी खाडीलाई ओमानको खाडी तथा अरब सागरसँग जोड्ने एक मात्र समुद्री मार्ग हो ।
विश्वको झण्डै २० प्रतिशत तेल तथा ठूलो मात्रामा प्राकृतिक ग्यास यही मार्गबाट ढुवानी हुन्छ ।
यदि यो मार्ग पूर्ण रूपमा बन्द भयो भने विश्व ऊर्जा आपूर्तिमा ठूलो संकट आउनेछ ।
अहिले नै इरानले यो मार्ग लगभग अवरुद्ध गरिसकेको छ । यसले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा तेलको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ ।
भारत, नेपाल, चीन, जापान, दक्षिण कोरिया लगायतका देशहरूले इन्धन आयातमा ठूलो असर बेहोर्नुपर्ने अवस्था सिर्जना भएको छ ।
नेपालमा प्रभाव
नेपालले आफ्नो शतप्रतिशत पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यास भारतबाट आयात गर्ने भएकाले होर्मुज अवरोधको प्रत्यक्ष असर नेपालमा पर्नेछ ।
यदि भारतले कतार तथा अन्य खाडी मुलुकबाट ग्यास आयात कटौती गर्नुपरेमा अन्तर्राष्ट्रिय बजारबाट महँगोमा किन्नुपर्ने हुन्छ ।
यसले नेपालमा ग्यास, पेट्रोल, डिजेल र अन्य इन्धनको मूल्य अत्यधिक बढ्ने जोखिम छ ।
खाडी क्षेत्रमा कार्यरत नेपाली श्रमिकहरूको सुरक्षा पनि जोखिममा परेको छ ।
परराष्ट्र मन्त्रालयले नेपाली नागरिकहरूलाई उच्च सतर्कता अपनाउन, अनावश्यक यात्रा नगर्न तथा स्थानीय सुरक्षा निर्देशन पालना गर्न पटकपटक आग्रह गरिसकेको छ ।
यदि कुनै नेपालीलाई उद्धार वा सहयोग आवश्यक परेमा नजिकको नेपाली दूतावास वा परराष्ट्र मन्त्रालयको आपत्कालीन हटलाइनमा तत्काल सम्पर्क गर्न सकिन्छ ।
प्रकाशित मिति: ९ चैत्र २०८२, सोमबार













प्रतिक्रिया