काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यही साता नयाँ सरकार गठन गर्ने तयारी गरेको छ । पार्टीका वरिष्ठ नेता बालेन शाह ले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने तयारी भइरहेको स्रोतले जनाएको छ ।
सरकार गठनको तयारीसँगै रास्वपाका शीर्ष नेताहरू मन्त्री चयनमा व्यस्त रहेका छन् । हालै सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह, उपसभापतिद्वय डिपी अर्याल र स्वर्णिम वाग्ले बीच सरकार निर्माणबारे छलफल भएको थियो । उक्त बैठकको तस्बिर सार्वजनिक गर्दै वाग्लेले “राजकाजबारे छलफल” भएको उल्लेख गरेका छन् ।
सरकारको नेतृत्व गर्न लागेका शाहले मन्त्री चयनमा पार्टीको हस्तक्षेप नहोस् भन्ने धारणा राखेका छन् र मन्त्रीहरू स्वयं छनोट गर्ने तयारीमा रहेको बताइएको छ । यद्यपि, सभापति लामिछानेले गृह, परराष्ट्र र कानून मन्त्रालयमा विशेष चासो देखाएका छन् ।
लामिछानेले गृहमन्त्रालय उपसभापति अर्याललाई दिन चाहेको चर्चा छ भने परराष्ट्रमन्त्रीका लागि शिशिर खनाल र कानूनमन्त्रीका लागि सोविता गौतम लाई सिफारिस गरिएको बताइन्छ ।
तर, शाहले गृह मन्त्रालयमा आफ्ना विश्वासपात्र सुनिल लम्साललाई अघि सार्न खोजेको चर्चा छ । त्यस्तै, सञ्चार मन्त्रालयका लागि लामिछानेले पार्टी प्रवक्ता मनिष झा लाई अघि सारेका छन् ।
झा अघिल्लो कार्यकालमा संसदमा प्रभावकारी भूमिका खेलेका कारण उनलाई सञ्चारमन्त्री बनाउने तयारी गरिएको हो । उनको नाममा शाह पनि सकारात्मक रहेको बताइएको छ ।
धनुषा–३ बाट निर्वाचित झाले विमलेन्द्र निधि र जुलीकुमारी महतो जस्ता पुराना दलका नेताहरूलाई पराजित गरेका थिए । उनले ४३ हजार ९८८ मत प्राप्त गर्दा निधिले १६ हजार ६५२ मत मात्रै ल्याएका थिए ।
यसैबीच, सर्लाही–४ बाट निर्वाचित सांसद अमरेशकुमार सिंह ले पनि मन्त्री बन्ने इच्छा व्यक्त गरेका छन् । उनले चुनावमा गगन थापा लाई पराजित गरेका थिए । सिंहले ३५ हजार ६८८ मत ल्याउँदा थापाले २२ हजार ८३८ मत प्राप्त गरेका थिए ।
सिंहले शक्तिशाली मन्त्रालयको नेतृत्व लिन चाहेको र विशेष गरी परराष्ट्र मन्त्रालयमा रुचि देखाएको चर्चा छ । तर, विवादित अभिव्यक्तिका कारण उनलाई उक्त जिम्मेवारी दिने विषयमा पार्टीभित्र शंका रहेको बुझिएको छ ।
रास्वपाले आज वा भोलिसम्म मन्त्रीहरूको नाम टुंगो लगाउने तयारी गरेको स्रोतले जनाएको छ ।
प्रकाशित मिति: ९ चैत्र २०८२, सोमबार













प्रतिक्रिया