काठमाडौं । रवि लामिछानेसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दाको अभियोगपत्र संशोधनसम्बन्धी विवादमा दायर रिट निवेदनको सुनुवाइ अपूरो रहेपछि ‘हेर्दाहेर्दै’ मा राख्दै मंगलबारका लागि सारिएको छ।
सर्वोच्च अदालतमा न्यायाधीश विनोद शर्मा र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ भइरहेको थियो। तर समय अभावका कारण सुनुवाइ नसकिँदा भोलिका लागि पुनः पेसी तोकिएको हो।
महान्यायाधिवक्ता सविता भण्डारीले पुस ३० गते जारी गरेको सात पृष्ठीय ‘टिप्पणी र आदेश’मार्फत लामिछानेविरुद्ध सहकारी ठगी मुद्दा मात्र अघि बढाउने र संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणजस्ता गम्भीर अभियोगहरू हटाउन सम्बन्धित जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिएकी थिइन्।
उक्त निर्देशनअनुसार कास्की र रुपन्देही जिल्ला अदालतमा अभियोगपत्र संशोधनका लागि निवेदन दर्ता गरिए पनि सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले त्यहाँ सुनुवाइ अघि बढ्न सकेको छैन।
यता, महान्यायाधिवक्ता कार्यालयको निर्देशन भए पनि काठमाडौं र पर्साका सरकारी वकिल कार्यालयले भने हालसम्म अभियोगपत्र संशोधनका लागि जिल्ला अदालतमा निवेदन दायर गरेका छैनन्।
प्रकाशित मिति: ९ चैत्र २०८२, सोमबार













प्रतिक्रिया