काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ। पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी का अनुसार बैठक चैत १२ गते दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्नेछ।
बैठकमा मुख्य रूपमा संसदीय दलको नेता चयन गर्ने विषयमा छलफल हुने जनाइएको छ। केन्द्रीय समितिको निर्णयपछि संसदीय दलले बालेन्द्र शाह (बालेन) लाई संसदीय दलको नेता चयन गर्ने तयारी गरिएको छ।
सोही दिन नवनिर्वाचित सांसदहरूले शपथ लिने कार्यक्रम रहेको छ। शपथ ग्रहणलगत्तै रास्वपाले केन्द्रीय समिति बैठक राखेको हो।
यसअघि नै रास्वपाले निर्वाचनअघि बालेन्द्र शाह लाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिसकेको थियो। पार्टी र बालेनबीच भएको सहमतिमा पनि उनलाई भावी प्रधानमन्त्री बनाउने उल्लेख गरिएको थियो।
संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री बन्न संसदीय दलको नेता हुनुपर्ने प्रावधान छ। त्यसैले चैत १२ गते उनलाई संसदीय दलको नेता चयन गर्ने र भोलिपल्ट चैत १३ गते प्रधानमन्त्रीको शपथ गराउने तयारी रास्वपाले गरेको छ।
रास्वपाका शीर्ष नेताहरू सम्भावित मन्त्रिपरिषद् गठन र सरकार सञ्चालनसम्बन्धी तयारीमा समेत सक्रिय रहेका छन्।
प्रकाशित मिति: ९ चैत्र २०८२, सोमबार













प्रतिक्रिया