पश्चिम एसियामा इरानसँग इजरायल र अमेरिकाको युद्ध चर्किएसँगै त्यसका बाछिटा नेपालका उद्योगमा देखिन थालेका छन् । प्लास्टिक उद्योग कच्चा पदार्थ अभावमा बन्द हुने अवस्थामै पुगेका छन् । सञ्चालनमा रहेका प्लास्टिकजन्य उद्योगले पनि ३० प्रतिशत उत्पादन कटौती गरेका छन् ।
कच्चा पदार्थ आयात गर्न समस्या भएकाले उत्पादनमा भारी कटौती गर्नुपरेको एमएम पोलिमर्सका सञ्चालक स्वागतराज प्याकुरेलले बताए । कम्पनीले हेटौंडा औद्योगिक क्षेत्रमा कोकाकोला, फेन्टालगायत पेय पदार्थका बोतल उत्पादन गर्दै आएको छ ।
प्लास्टिकजन्य उद्योगलाई आवश्यक औद्योगिक कच्चा पदार्थ पेट्रो केमिकल र पोलिमरको अभाव हुँदै गएको प्याकुरेलले जनाए । भारतले अन्य मुलुकबाट ‘क्रुड आयल’ ल्याएर रिफाइन गरेर नेपाललगायत अन्य मुलुकलाई पेट्रो केमिकल निर्यात गर्दै आएको छ । यति बेला भारतमै कच्चा तेलको समस्या रहेको र युद्ध लम्बिए नेपालका प्लास्टिकजन्य उद्योगसँगै अन्य उद्योग पनि बन्द हुने अवस्था सिर्जना हुने नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष भरतराज आचार्यले बताए । कच्चा पदार्थको अभावले प्लास्टिकजन्य उद्योगले उत्पादन कटौती गर्दै आएको हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका प्रमुख संगीता कुँवरले जनाइन् ।
अहिले प्लास्टिकजन्य उद्योगमा प्रयोग हुने प्लास्टिक ‘दाना’ को अभाव सुरु भएको छ । भारत हुँदै नेपाली भान्सासम्म पुग्ने भटमास र सूर्यमुखी तेलका लागि आवश्यक कच्चा पदार्थको आयातसमेत प्रभावित बनेको छ । कच्चा पदार्थ अभावकै कारण बुटवल औद्योगिक क्षेत्र, भैरहवा–परासी औद्योगिक करिडोरमा सञ्चालित उद्योग बन्द हुने अवस्था सिर्जना हुन थालेको सम्बद्ध उद्योगीहरूको भनाइ छ ।
प्रकाशित मिति: १० चैत्र २०८२, मंगलबार













प्रतिक्रिया