काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग पत्र संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णयविरुद्ध परेको रिटमाथिको सुनुवाइ नसकिएपछि आज पनि हेर्दाहेर्दैमा राखिएको छ । अब यो मुद्दाको सुनुवाइ बिहीबार हुनेछ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा आज भएको सुनुवाइ पूरा नभएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । हिजो पनि सोही इजलासमा सुनुवाइ नसकिएपछि आज पनि हेर्दाहेर्दैमा राखिएको थियो ।
महान्यायाधिवक्ता सविता भण्डारीले गत पुस ३० गते लामिछानेविरुद्ध कास्की, काठमाडौं, रुपन्देही र पर्सा जिल्ला अदालतमा दायर मुद्दाहरूमा संगठित अपराध र सम्पत्ति शुद्धीकरणको दाबी हटाउने गरी अभियोगपत्र सच्याउने निर्णय लिएकी थिइन् । उक्त निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानूनका विद्यार्थी आयुष बडाल र अदालती अभियन्ता युवराज पौडेल सफलले रिट दायर गरेका थिए ।
यो मुद्दाको अन्तिम फैसला रवि लामिछानेको राजनीतिक भविष्यसँग जोडिएको छ । रास्वपाले झण्डै दुई तिहाइ बहुमतसहित सरकार गठनको तयारी गरिरहेको बेला सभापति लामिछानेमाथिको यो मुद्दा थप चासोको विषय बनेको छ ।
अब बिहीबार हुने सुनुवाइपछि सर्वोच्चले महान्यायाधिवक्ताको निर्णय वैध हो वा होइन भन्ने स्पष्ट पार्ने अपेक्षा गरिएको छ ।
प्रकाशित मिति: १० चैत्र २०८२, मंगलबार













प्रतिक्रिया