काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले जनताबाट प्राप्त जनादेशविपरीत कुनै वैकल्पिक बाटोबाट सांसद बनेर मन्त्री बन्ने सोचसमेत नगरेको स्पष्ट पारेका छन्।
नयाँ बन्ने सरकारमा आफ्नो सहभागिताबारे केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा आएका टिप्पणीप्रति आपत्ति जनाउँदै उनले त्यसको खण्डन गरेका हुन्।
उनले भनेका छन्, “मेरो सरकारमा सहभागिताबारे भइरहेका चर्चाप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। नेपालको संविधानअनुसार गैर–सांसद व्यक्ति मन्त्री बन्न सक्दैन भन्ने कुरा सबैलाई स्मरण गराउन चाहन्छु। जनादेशविपरीत कुनै वैकल्पिक बाटो अपनाएर सांसद भई मन्त्री बन्ने कल्पनासमेत गर्न सकिँदैन।”
साथै, सरकारमा सहभागी हुने विषयमा हालसम्म कसैसँग कुनै छलफल नभएको पनि उनले स्पष्ट पारेका छन्।
उनले पार्टीलाई थप सुदृढ बनाउनेतर्फ आफूहरू केन्द्रित रहेको उल्लेख गर्दै भने, “हामी चुनावी परिणामलाई सम्मान गर्दै त्यसबाट पाठ सिकिरहेका छौं। उज्यालो नेपाल निर्माण, सुशासन र समृद्धिप्रति हाम्रो प्रतिबद्धता अटल छ। हाम्रा विरुद्ध फैलाइएका भ्रमपूर्ण प्रचारमा नपर्न सबैलाई अनुरोध गर्दछु।”
प्रकाशित मिति: ११ चैत्र २०८२, बुधबार













प्रतिक्रिया