महोत्तरी। मधेसको प्राचीन मिथिला क्षेत्रमा आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै यसपालिको वासन्ती छठ पर्व बर्तालुहरूले सम्पन्न गरेका छन् ।
मङ्गलबार साँझ अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिएका बर्तालुहरूले आज बिहान सूर्योदय भएसँगै दोस्रो अघ्र्य दिएर पर्वको समापन गरेका हुन् ।
मिथिलामा वासन्ती छठलाई बोलीचालीमा ‘चैती छठ’ भनिन्छ ।
वसन्त ऋतुमा मनाइने भएकाले यसलाई वासन्ती छठ पर्व भनिएको पाका मैथिलहरू बताउँछन् ।
चैत शुक्लपक्षमा मनाइने हुँदा आम बोलीमा यसलाई ‘चैती छठ’ भन्ने गरिन्छ ।
चारदिने यो पर्व चैत शुक्ल चौथीदेखि सप्तमीसम्मको हुन्छ ।
यसपालि गत आइतबार चैत शुक्ल चतुर्थी (चौथी) का दिन ‘नहाय–खाय’ र सोमबार पञ्चमी तिथिका दिन बर्तालुहरूले ‘खरना’ विधि सम्पन्न गरेका थिए ।
यसैगरी मङ्गलबार षष्ठी तिथिको निराहार व्रत बसेर बर्तालुहरूले साँझ अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिएका थिए ।
यो पहिलो अघ्र्यलाई यहाँ ‘सझुका अरख’ भन्ने गरिन्छ ।
त्यसैगरी आज उदाउँदो सूर्यलाई दिइने अघ्र्यको विधिलाई ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ ।
पर्वको पहिलो दिन स्नान गरेर चोखोनीतिो खाने चलन छ ।
यस दिन व्रतमा अपवित्र मानिने लहसुन, प्याज र कोदोसहितका खाद्यपदार्थ प्रयोग गरिँदैन ।
अरवा चामलको भात खाइने हुँदा यस दिनलाई ‘अर्बाअर्बाइन’ पनि भनिन्छ ।
दोस्रो अर्थात् ‘खरना’का दिन दिनभरि उपवास रही राति सक्खर हालेर पकाइएको खिर इष्टदेवलाई चढाएर बर्तालुहरूले खान्छन् ।
यो प्रसाद खाएपछि निराहार व्रत प्रारम्भ हुन्छ ।
षष्ठी तिथिका दिन निराहार व्रत रही साँझ पवित्र जलासयमा बनाइएको घाटमा गई अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिने परम्परा छ ।
यस क्रममा फलफूल र ठकुवा (गहुँको पीठोबाट बनाइएको मिष्टान्न परिकार), भुसुवा (कसार) र अन्य परिकार राखिएको डाला हातमा उठाएर सूर्यदेवलाई देखाइन्छ ।
कम्मरसम्म पानीमा चोबलिएर सूर्यलाई अघ्र्य दिने प्रचलन छ ।
चौथो अर्थात् सप्तमी तिथिका दिन बिहान उदाउँदो सूर्यलाई यिनै प्रसाद सामग्री देखाएर अघ्र्य दिई बर्तालुहरूले व्रत समापन गरेका छन् ।
शरद् र वसन्त ऋतुमा गरी वर्षमा दुईपटक मनाइने छठ सूर्य र सूर्य पत्नी षष्ठीको उपासनाको पर्व मानिन्छ ।
शरद् ऋतुमा कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म र वसन्त ऋतुमा चैत शुक्ल चौथीदेखि सप्तमीसम्म समान विधिले यो पर्व सम्पन्न गरिन्छ ।
यो व्रतका प्रभावले हरेक मनोकाङ्क्षा पूरा हुने विश्वास गरिन्छ ।
मिथिलामा यो पर्व द्वापर युगमा श्रीकृष्ण पुत्र साम्बले कुष्ठरोग निवारणका लागि गरेका र त्यसैबेलादेखि प्रारम्भ भएको मानिन्छ ।
यस्तै महाभारतकालमै पाण्डवले गुप्तवास सफलताको कामना गरेर सूर्यदेवको आराधना गरेका र सति अनसुइयाले सूर्य उपासना गरेको जनश्रुति पनि छ ।
यो व्रत प्रभावले छालाजन्य रोग नलाग्ने जनविश्वास पनि छ ।
तस्बिरहरु:

नारायणगढ (चितवन) , ११ चैत ः
नारायणगढको नारायणी नदी किनारमा बुधबार चैती छठ पर्वको अवसरमा उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै व्रतालुहरू ।
तस्बिर ः सनद अधिकारी÷रासस


इनरुवा९सुनसरी०, ११ चैत । चैती छठ पूजाको अन्तिम दिन बुधबार सुनसरी इटहरी उपमहानगरपालिकास्थित बुढी खोलामा उदाउँदो सूर्यलाई अर्घ दिँदै व्रतालु भक्तजन ।
तस्बिर ः अजितकुमार झा÷रासस

महाेत्तरी जिल्लाकाे ओैरही नगरपालिका-१ स्थित महादेव पाेखरीमा बुधबार बिहान चैती छठकाे अन्तिम दिन ब्रतालुहरू उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै । तस्बिर: सञ्जीतकुमार मण्डल / रासस

महाेत्तरी जिल्लाकाे ओैरही नगरपालिका-१ स्थित महादेव पाेखरीमा बुधबार बिहान चैती छठकाे अन्तिम दिन ब्रतालुहरू उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै । तस्बिर: सञ्जीतकुमार मण्डल / रासस


मलङ्गवा समाचारदाता
मलङ्गवा ९सर्लाही०, ११ चैत । चैती छठ अन्तर्गत बुधबार बिहान सर्लाही सदरमुकाम मलङ्गवान–८ स्थित रहेको माल पोखरीमा उदाउँदो सूर्यलाई अर्घ्य दिँदै ब्रतालु भक्तजनहरु । तस्बिर ः विश्वनाथ ठाकुर /f;;
प्रकाशित मिति: ११ चैत्र २०८२, बुधबार













प्रतिक्रिया