काठमाडौं। यस वर्षको माध्यामिक शिक्षा परीक्षा ( एसईई ) यही चैत १९ गते देखि सुरु हुँदैछ । गत वर्ष चैत ७ गतेदेखि सुरु भएको एसईई यस वर्ष फागुन २१ मा भएको प्रतिनिधिसभा निर्वाचनको कारण १२ दिनपछि सरेको हो ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष कुल ५ लाख १० हजार विद्यार्थी एसईई परीक्षामा सामेल हुँदैछन् । गत वर्ष ५ लाख १४ हजार ७१ विद्यार्थीले एसईई दिएका थिए । यस वर्ष गत वर्षको तुलनामा ४ हजार विद्यार्थी घटेका छन् ।
एसईईमा सहभागी हुने विद्यार्थीमध्ये ६३ हजार एक्जाम्टेड छन् । यस वर्ष कुल परीक्षार्थीमध्ये २ लाख ५७ हजार ५२७ छात्रा र २ लाख ५२ हजार ४३४ छात्र रहेका छन् ।
परीक्षा सञ्चालनका लागि १९ सय ९१ परीक्षा केन्द्र निर्धारण गरिएको छ । चैत १९ गते देखि २९ गतेसम्म बिहान ८ बजेदेखि परीक्षा सञ्चालन हुनेछ । परीक्षालाई व्यवस्थित र सुरक्षित बनाउन नेपाल प्रहरीले देशभर करिब १२ हजार पाँच सय सुरक्षाकर्मी खटाउने भएको छ ।
प्रकाशित मिति: ११ चैत्र २०८२, बुधबार













प्रतिक्रिया