काठमाडौं । अमेरिका ले इरान सँगको जारी युद्धका बीच मध्यपूर्व क्षेत्रमा थप सैन्य शक्ति पठाउने तयारी गरेको छ ।
अमेरिकी रक्षा मन्त्रालय पेन्टागन ले इरान नजिकको क्षेत्रमा ठूलो संख्यामा हवाईमार्गबाट खटाइने विशेष सैनिक (एयरबोर्न/प्याराट्रुपर) तैनाथ गर्ने तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
द न्यूयोर्क टाइम्स का अनुसार ८२ औँ एयरबोर्न डिभिजनअन्तर्गतका २ हजारभन्दा बढी सैनिकहरू मध्यपूर्व पठाइने तयारी भइरहेको छ । यी सैनिकहरू तत्काल प्रतिक्रिया दिन सक्ने विशेष बल हुन्, जसलाई आवश्यक पर्दा प्यारासुटमार्फत सिधै युद्ध क्षेत्रमा अवतरण गराइन्छ ।
त्यस्तै एसोसिएटेड प्रेस का अनुसार १ हजारभन्दा बढी सैनिक छिट्टै पठाइने तयारी छ । उक्त टोलीमा पहिलो ब्रिगेड कम्ब्याट टिमको एक बटालियन, डिभिजन कमाण्डर मेजर जनरल ब्रान्डन टेग्टमियर तथा उनका कर्मचारीहरू पनि रहनेछन् ।
रोयटर्स ले भने ह्वाइट हाउस लाई उद्धृत गर्दै ३ देखि ४ हजारसम्म प्याराट्रुपर पठाउने योजना रहेको जनाएको छ ।
ह्वाइट हाउसकी प्रवक्ता अन्ना केलीले राष्ट्रपतिसँग सबै प्रकारका सैन्य विकल्प उपलब्ध रहेको बताएकी छन् । डोनाल्ड ट्रम्प लाई थप रणनीतिक विकल्प उपलब्ध गराउने उद्देश्यले यो तैनाथी भइरहेको पेन्टागन अधिकारीहरूको भनाइ छ ।
रिपोर्टहरूका अनुसार अमेरिका यसअघि नै हजारौं मरीन सैनिकहरू मध्यपूर्वमा पठाइसकेको छ । हालसम्म करिब ७ हजार अतिरिक्त अमेरिकी स्थलसेना क्षेत्रमा परिचालित भइसकेको बताइएको छ ।
विश्लेषकहरूका अनुसार यी सैन्य बलहरू इरानको प्रमुख तेल निर्यात केन्द्र खार्ग टापु नियन्त्रणमा लिन वा स्ट्रेट अफ हर्मुज जस्ता महत्वपूर्ण समुद्री मार्ग सुरक्षित गर्न प्रयोग हुन सक्छन् ।
यद्यपि, रोयटर्सका अनुसार इरानभित्र स्थलसेना पठाउने अन्तिम निर्णय भने अझै गरिएको छैन ।
फेब्रुअरी अन्त्यदेखि सुरु भएको अमेरिका–इरान युद्ध अहिले चौथो सातामा प्रवेश गरिसकेको छ । लगातारको सैन्य तैनाथी र आक्रमणका कारण क्षेत्रीय तनाव झन् बढ्दै गएको जनाइएको छ ।
प्रकाशित मिति: ११ चैत्र २०८२, बुधबार













प्रतिक्रिया