काठमाडौं । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले सभामुख जहिले पनि निष्पक्ष पारदर्शी हुनुपर्ने बताएका छन्।
शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिए लगत्तै संसद् सचिवालय पुगेर पदभार ग्रहण गरेका केसीले देशको संसद्को संरक्षकको भूमिका सभामुखले निर्वाह गर्नुपर्ने बताए।
अर्जुननरसिंह केसी ले भने, ‘सभामुख कुनै पनि देशको संसद्को सांस्कृतिक तथा राजनीतिक प्रतिनिधित्व गर्ने प्रमुख संरक्षक हो। त्यसैले सभामुख सधैँ निष्पक्ष, पारदर्शी र संसदभित्र प्रत्येक सदस्यको विशेषाधिकार तथा सम्मानको रक्षकका रूपमा प्रस्तुत हुनुपर्छ। सभामुखको आसन ग्रहण गरेपछि उसले कुनै दलगत आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर संविधान, प्रतिनिधिसभा नियमावली, संसदीय परम्परा र अन्तर्राष्ट्रिय संसदीय मान्यताका आधारमा मात्रै निर्णय लिनुपर्छ।’
जनताले राखेको विश्वासको रक्षा गर्नु संसद् र सरकार दुवैको साझा कर्तव्य भएको बताए।
उनले थपे, ‘हामी एक अर्काका शत्रु होइनौँ हाम्रो साझा शत्रु भनेको गरिबी, भोक, रोग, असम्पन्नता, अस्थिरता, भ्रष्टाचार र विधिहीनता हुन्। यी समस्याको अन्त्यका लागि संसद्ले प्रभावकारी भूमिका खेल्न आवश्यक छ। ऐतिहासिक जनमतबाट निर्वाचित वर्तमान संसद्ले जनताको आकाङ्क्षा सम्बोधन गर्दै दण्डहीनताको अन्त्य, सुशासन स्थापना र भ्रष्टाचारमुक्त समाज निर्माणतर्फ अग्रसर हुनुपर्छ।’
प्रकाशित मिति: ११ चैत्र २०८२, बुधबार













प्रतिक्रिया