काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेल ले गौरीबहादुर कार्की आयोगको प्रतिवेदनप्रति गम्भीर प्रश्न उठाउँदै आयोग निष्पक्ष छानबिनका लागि नभई निश्चित धारणा स्थापित गर्न बनेको पुष्टि भएको बताएका छन् ।
भदौ २३ र २४ का घटनाबारे छानबिन गर्न गठित आयोगको प्रतिवेदन मिडियाबाट सार्वजनिक भएपछि एमालेको तर्फबाट पहिलो प्रतिक्रिया आएको हो । महासचिव पोखरेलले आयोगको प्रतिवेदनले नै यसको निष्पक्षतामाथि प्रश्न उठाएको दाबी गर्दै आयोग र आम निर्वाचन २०८२ दुवैलाई ‘अल्गोरिदममार्फत नेपाली समाजमा परेको प्रभावलाई राजनीतिक र कानूनी वैधानिकता दिने प्रयास’का रूपमा व्याख्या गरेका छन् ।
उनका अनुसार यही पृष्ठभूमिमा निर्वाचन परिणाम र आयोगको प्रतिवेदन आएको हो, जसले नेपाली राजनीतिलाई नयाँ मोडतर्फ धकेलेको छ । उनले अबका दिन केही कठिन र चुनौतिपूर्ण हुने समेत बताएका छन् ।
पोखरेलले अल्गोरिदमको प्रयोगबाट ‘लोकप्रियतावाद, अराजकतावाद र अवसरवादको मिश्रण’ हुँदै नयाँ शक्तिको उदय भएको टिप्पणी गरेका छने । उनले आगामी दिन सहज नहुने संकेत गर्दै राष्ट्र र लोकतन्त्र दुवैले केही समय चुनौती सामना गर्नुपर्ने बताएका छन् ।
यस्तो अवस्थामा नयाँ शक्ति र नेतृत्वलाई काम गर्ने अवसर दिनुपर्ने उनको धारणा छ । ‘जनताले प्रत्यक्ष अनुभवमार्फत मूल्याङ्कन गर्ने वातावरण बन्नु नै विवेकपूर्ण हुन्छ,’ उनले भने ।
तर, उनले लोकप्रियतावाद, अराजकतावाद र अवसरवाद दीर्घकालीन समाधान नभएको स्पष्ट पार्दै विचारधारामा आधारित राजनीति नै स्थायित्वको आधार हुने जिकिर गरेका छन् ।
प्रकाशित मिति: १२ चैत्र २०८२, बिहिबार













प्रतिक्रिया