काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगीसँगै दायर गरिएको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिन दिएको निर्देशनविरुद्ध परेको रिट निवेदनमा मंगलबार बहस नसकिएपछि आज पुनः सुनुवाइ हुने भएको छ।
सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र अव्दुल अजीज मुसलमानको संयुक्त इजलासमा सोमबारदेखि उक्त रिटमाथि सुनुवाइ भइरहेको छ। समय अभावका कारण बहस पूरा नभएपछि मुद्दा ‘हेर्दाहेर्दै’मा राखिएको थियो।
यसअघि महान्यायाधिवक्ता सविता भण्डारीले रवि लामिछानेविरुद्ध विभिन्न जिल्लामा विचाराधीन सहकारी ठगी प्रकरणसँग सम्बन्धित सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग संशोधन गर्न जिल्ला सरकारी वकिल कार्यालयहरूलाई निर्देशन दिएकी थिइन्।
महान्यायाधिवक्ता कार्यालयको उक्त निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र युवराज पौडेल सफलले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। पुस ३० गते सदर गरिएको सात पृष्ठ लामो ‘टिप्पणी र आदेश’मार्फत महान्यायाधिवक्ताले लामिछानेलाई सहकारी ठगीसम्बन्धी मुद्दामा मात्र अभियोजन गर्न र अन्य दुई गम्भीर प्रकृतिका अभियोग हटाउन निर्देशन दिएको उल्लेख छ।
उक्त निर्णय कानुनसम्मत नभएको दाबी गर्दै निवेदकहरूले अदालतबाट हस्तक्षेपको माग गरेका छन्।
प्रकाशित मिति: १२ चैत्र २०८२, बिहिबार













प्रतिक्रिया