काठमाडौँ । चौधरी ग्रुप अन्तर्गत सञ्चालनमा रहेको चाँदबाग विद्यालय सम्बन्धी पछिल्लो समय सामाजिक सञ्जाल र केही अनलाइन माध्यमबाट फैलिएका समाचारहरू भ्रामक रहेको पाइएको छ।
केही सामाजिक संजाल र संचार माध्यमहरूले विद्यालयलाई बाँसबारीबाट गोकर्णेश्वर–जोरपाटीतर्फ सार्ने तयारी भइरहेको दाबी गरेका छन्। तर, विद्यालय अहिले सार्न लागिएको नभई करिब एक वर्षअघि नै स्थानान्तरण भइसकेको पुष्टि भएको छ।
विद्यालय व्यवस्थापनका अनुसार चाँदबाग विद्यालय २०८१ साल चैत्र ५ गतेदेखि नै गोकर्णेश्वर नगरपालिका वडा नं ६ जोरपाटीस्थित नयाँ स्थानबाट नियमित रूपमा सञ्चालनमा आइरहेको छ। यसअघि बाँसबारीमा रहेको विद्यालय पूर्ण रूपमा १ बर्ष पहिले नै त्यहाँबाट सरेको हो।
यो विषयमा भ्रम सिर्जना हुनुको मुख्य कारण काठमाडौं महानगरपालिकाको शिक्षा विभागले स्थानान्तरण सम्बन्धी सूचना ढिलो सार्वजनिक गर्नु रहेको पाइएको छ। महानगरले उक्त निर्णयबारे आधिकारिक जानकारी २०८२ साल चैत्र ८ गते मात्र सार्वजनिक गरेको थियो।
महानगरबाट ढिलोगरी जारी गरिएको सूचनालाई हालैको निर्णय ठान्दै केही सामाजिक सञ्जाल पेज र अनलाइन मिडियाहरूले विद्यालय भर्खरै सार्न लागिएको भन्दै समाचार प्रसारण गरेका थिए।
यस घटनाले सामाजिक सञ्जालमा तथ्य पुष्टि नगरी सामग्री भाइरल बनाउने प्रवृत्ति बढ्दै गएको बलियो उदाहरणको रुपमा देखिएको छ। साथै, केही अनलाइन सञ्चार माध्यमहरू पनि यथार्थता नबुझी सामाजिक सञ्जालकै पछाडि कुद्ने प्रवृत्ति पुनः उजागर भएको छ।
वास्तविकता भने चाँदबाग विद्यालय पहिले नै जोरपाटीस्थित नयाँ स्थानबाट सञ्चालन भईरहेको पाइएको छ भने हाल देखिएको चर्चा केवल सूचनाको ढिलाइका कारण उत्पन्न भएको भ्रम भएको पुष्ठि भएको छ।
प्रकाशित मिति: १२ चैत्र २०८२, बिहिबार













प्रतिक्रिया