काठमाडौं । प्रधानमन्त्री पदको शपथ लिनु अघि बालेन्द्र शाह (बालेन) सर्वोच्च अदालत पुगेका छन्। रास्वपा (राष्ट्रिय स्वतन्त्र पार्टी) का वरिष्ठ नेता बालेनले बिहीबार (चैत १२) सर्वोच्च प्रशासनको फाँटमा उपस्थित भएर आफ्नै अवहेलना मुद्दामा म्याद बुझेका हुन्।

स्रोतका अनुसार बालेनले आउँदो जेठ १४ मा सुनुवाइ हुने म्याद पाएका छन्। झापा–५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित बालेनले शुक्रबार (चैत १३) वैदिक कर्मकाण्ड अनुसार प्रधानमन्त्री पदको शपथ लिनु हुँदैछ।

advertisement

उनी आफूविरुद्ध दर्ता गरिएको अदालतको अवहेलना मुद्दामा उपस्थित भएका हुन्। मुद्दा पाटन उच्च अदालतले सिनेमा हल सञ्चालकलाई हिन्दी फिल्म रोक्न आदेश जारी गरेपछि तत्कालीन मेयर बालेनले सामाजिक सञ्जालमा आपत्तिजनक अभिव्यक्ति दिएका थिए।

अधिवक्ता वर्षाकुमारी झाले बालेनमाथि फेसबुक स्टाटसका कारण अवहेलना मुद्दा दर्ता गरेकी थिइन्। बालेनले स्टाटसमा लेखेका थिए, ‘सजाय भोग्न तयार छु, तर फिल्म चल्दैन र चल्न दिइने छैन।’ उक्त अभिव्यक्तिले कानुनी विवादको रूप लिएको हो।

न्याय प्रशासन ऐन, २०७३ को दफा १७ र सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ५९ बमोजिम अदालतको अवहेलनाजन्य कसुरमा उच्चतम सजाय दिन सकिने व्यवस्था छ। अधिवक्ता झाका अनुसार, सार्वजनिक पदमा रहेका व्यक्तिले सामाजिक सञ्जालमा दिएको यस्तो अभिव्यक्ति ‘क्षमायोग्य’ मानिँदैन।

सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरि फुयाल को संयुक्त इजलासले बालेनको म्याद माग अस्वीकार गर्दै उनी स्वयं उपस्थित हुनुपर्ने निर्णय गरेको छ।

सर्वोच्च प्रशासनले बालेनको अवहेलना मुद्दामा सुनुवाइको मिति जेठ १४ तय गरेको छ, जसमा दुवै पक्षको बहस हुनेछ।

प्रकाशित मिति: १२ चैत्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com