काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी अझै पनि राष्ट्रिय राजनीतिमा प्रभावशाली शक्तिको रूपमा कायम रहेको दाबी गरेका छन्।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा सांसदहरूलाई सम्बोधन गर्दै उनले वर्तमान परिस्थितिमा एमाले तेस्रो राजनीतिक शक्तिको रूपमा सशक्त रूपमा उभिएको बताएका हुन्।
केपी शर्मा ओलीले हालको निर्वाचन परिणामप्रति टिप्पणी गर्दै ‘जादुमय चुनाव’ को माध्यमबाट राष्ट्रिय स्वतन्त्र पार्टी ले करिब दुईतिहाइ सिट प्राप्त गरेको दाबी गरिएको उल्लेख गरे। उनले भने, ‘यसअघि रास्वपाको २१ सिट थियो, अहिले पनि प्रतिनिधिसभामा हामी त्योभन्दा बढी सिटमा छौं। केही घटेर यहाँसम्म आइपुगे पनि हामी समाप्त भएका होइनौं।’
उनका अनुसार कुनै पनि शक्ति चरम अवस्थामा पुगेपछि क्रमशः घट्ने दिशातर्फ जान्छ। एमालेको वर्तमान अवस्थालाई कमजोरीको परिणाम नभई परिस्थितिजन्य उतार–चढावका रूपमा बुझ्नुपर्ने उनले बताए।
ओलीले घृणाको राजनीतिले वर्तमान अवस्था सिर्जना गरेको दाबी गर्दै अब जनताको विश्वास पुनः जित्दै अघि बढ्नुपर्नेमा जोड दिए। ‘२१ सिट भएको पार्टीले दुईतिहाइ पुर्याउन सक्छ भने हामीसँग अहिले पनि २५ सिट छन्। त्यसैले एमाले अझै पनि शक्तिशाली राजनीतिक शक्ति हो,’ उनले भने।
उनले पछिल्लो निर्वाचनबाट पार्टीले गहिरो पाठ सिक्ने अवसर पाएको उल्लेख गर्दै संगठनलाई थप सुदृढ र सक्षम बनाउँदै अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।
प्रकाशित मिति: १२ चैत्र २०८२, बिहिबार












प्रतिक्रिया