काठमाडौं । अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) को अवैध कारोबारमा संलग्न रहेको आरोपमा काठमाडौंबाट एक जना बंगलादेशी नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बंगलादेशको पाबना घर भई हाल काठमाडौं महानगरपालिका–२६ ठमेल बस्दै आएका २९ वर्षीय मोहम्मद शिहाबुल इस्लाम रहेका छन्। उनलाई बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले ठमेल क्षेत्रबाट नियन्त्रणमा लिएको हो।
प्रारम्भिक अनुसन्धानका अनुसार उनले ३० लाख ४९ हजार ७ सय ३६ रुपैयाँ ९३ पैसा बराबरको यूएसटीडी (USDT) लगायत अभौतिक मुद्राको कारोबार गरेको खुलेको छ।
प्रहरीले उनको साथबाट नगद ६० हजार रुपैयाँ, ९ थान सिमकार्ड, २ थान मोबाइल फोन, विभिन्न बैंकका ७ थान एटीएम कार्ड र ३३ थान चेकबुक समेत बरामद गरेको जनाएको छ।
उनीमाथि अभौतिक मुद्राको अवैध प्रयोगसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १३ चैत्र २०८२, शुक्रबार













प्रतिक्रिया