काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई प्रधानमन्त्री पदको शपथ गराउने कार्यक्रम तय गरिएको छ। शपथ ग्रहण समारोह दिउँसो १२:३४ बजे सुरु हुने तालिका तय गरिएको छ।
शपथ ग्रहण समारोहमा धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार ७ वटा शंखबाट शखनाथ, १०८ जना बटुकद्वारा स्वस्ती–शान्ति वाचन, र १६ जना बौद्ध भिक्षुबाट अष्ठमंगल पाठ गरिने कार्यक्रम समावेश छ।
त्यस्तै, बालेनले दिउँसो सवा २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद बहाली गर्नेछन्। शपथअघि नै उनी प्रधानमन्त्रीमा नियुक्त गरिएको जानकारी दिइनेछ।
नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार एकल सरकार गठन हुने भएको छ। राष्ट्रपति कार्यालयका अनुसार शपथ ग्रहण समारोहमा विभिन्न राजनीतिक दल, कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि र उच्च सरकारी अधिकारीलाई आमन्त्रित गरिएको छ।
प्रधानमन्त्रीको शपथसँगै नयाँ मन्त्रीहरूले पनि शपथ ग्रहण गर्नेछन्। गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिट जितेको थियो। सो दलले बिहीबार मात्र नेता शाहलाई संसदीय दलको नेता चयन गरेको थियो।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेता शाह झापा क्षेत्र नं ५ बाट ६८,३४८ मत प्राप्त गरी विजयी भएका थिए। त्यही दिन प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अजुर्ननरसिंह केसी ले सांसदहरूलाई पद तथा गोपनियताको शपथ गराएका थिए।
प्रकाशित मिति: १३ चैत्र २०८२, शुक्रबार













प्रतिक्रिया