काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन शाहलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष घिसिङले शाह प्रधानमन्त्रीमा नियुक्त भएकोमा बधाई दिँदै सफल कार्यकालको कामना गरेका हुन्।
उनले सुशासनको मागसहित जेन–जी पुस्ताले शुरू गरेको आन्दोलनबाट प्राप्त जनादेशका आधारमा गठन भएको वर्तमान सरकारप्रति विभिन्न अपेक्षा व्यक्त गरेका छन्।
घिसिङले लेखेका छन्,’सुशासनको मागसहित जेन–जी पुस्ताले शुरू गरेको आन्दोलनको जगबाट प्राप्त जनादेशका आधारमा गठन भएको यस सरकारबाट संविधान, शासन प्रणाली तथा राज्य संरचनालाई थप नागरिकमैत्री बनाउने, भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाउने, अर्थतन्त्रलाई उत्पादनमुखी बनाउँदै रोजगारी विस्तार गर्ने, प्रविधि, नवप्रवर्तन तथा उद्यमशीलतालाई प्रोत्साहन गर्ने, र पूर्वाधार विकासलाई सुदृढ गर्ने अपेक्षा गरिएको छ। ‘
उनले सुशासन, समृद्धि र सामाजिक न्यायसहितको नेपाल निर्माणमा सरकार सफल होस् भन्ने शुभकामना व्यक्त गरेका छन्। साथै, सरकारलाई आवश्यक सल्लाह सुझाव दिनुका साथै कामकारबाहीमा खबरदारी गर्दै रचनात्मक भूमिका निर्वाह गर्न उज्यालो नेपाल पार्टी दृढतापूर्वक प्रतिबद्ध रहेको बताएका छन्।
प्रकाशित मिति: १३ चैत्र २०८२, शुक्रबार












प्रतिक्रिया