काठमाडौं। नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को पद तथा गोपनीयताको शपथ समारोहमा पाँच जना पूर्वप्रधानमन्त्री सहभागी भएका छन् ।
शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई र अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी उपस्थित थिए ।
तर, पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने समारोहमा सहभागी भएनन् । कांग्रेस सभापति शेरबहादुर देउवा विदेशमा भएकाले उनी पनि उपस्थित हुन सकेनन् ।
प्रधानमन्त्री बालेन शाहले शपथ लिएलगत्तै १४ जना मन्त्रीहरूले पनि पद तथा गोपनीयताको शपथ लिएका थिए । शपथ समारोहमा उच्चपदस्थ पदाधिकारी, कूटनीतिक नियोगका प्रमुख तथा समाजका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
बालेनको नेतृत्वमा रास्वपाले एकल बहुमतसहित सरकार गठन गरेको छ । शपथ ग्रहणपछि नयाँ सरकारले औपचारिक रूपमा कार्यभार सम्हाल्ने छ ।
प्रकाशित मिति: १३ चैत्र २०८२, शुक्रबार












प्रतिक्रिया