काठमाडौं । योगेश भट्टराई ले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोध संयमित रूपमा गर्ने बताएका छन्। नेकपा एमाले पार्टी मुख्यालय च्यासलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आन्दोलन विधिसम्मत ढङ्गले अघि बढाइने स्पष्ट पारे।
भट्टराईले ओलीको पक्राउ गैरसंवैधानिक र गैरकानुनी ढङ्गले गरिएको दाबी गर्दै त्यसको विरोध गर्ने बताएका छन्। “हामी विधिको पक्षमा उभिएर विरोध गर्छौँ। कुनै कानुनी वा संवैधानिक आधारविना यस्ता कदम चाल्नु गलत हो,” उनले भने।
उनले कानुन र अदालतप्रति आफ्नो पार्टीको पूर्ण विश्वास रहेको उल्लेख गर्दै सरकारलाई विधिको शासन पालना गर्न चेतावनी दिएका छन्। साथै, जनमतको दुरुपयोग नगर्न पनि उनले सरकारलाई आग्रह गरेका छन्।
भट्टराईले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनप्रति असहमति जनाउँदै त्यसलाई स्वीकार नगर्ने बताएका छन्। उनले उक्त प्रतिवेदनमाथि सर्वोच्च अदालत ले पनि गम्भीर प्रश्न उठाएको दाबी गरे।
भदौ २३ र २४ गतेका घटनालाई उनले दुखद र हृदयविदारक भएको उल्लेख गर्दै ती घटनाको निष्पक्ष छानबिन आवश्यक रहेको बताए। “यी घटनाहरू किन भए, कसरी भए र कसको कमजोरीले भए भन्नेबारे निष्पक्ष अनुसन्धान हुनुपर्छ,” उनले भने।
एमालेले सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको अध्यक्षतामा न्यायिक छानबिन आयोग गठन गर्न माग गरेको पनि उनले जानकारी दिए। निष्पक्ष प्रतिवेदन आएमा स्वीकार गर्ने तर पूर्वाग्रहपूर्ण प्रतिवेदन नस्वीकार्ने उनको भनाइ छ।
उनले वर्तमान परिस्थितिमा कार्यकर्ताहरू सडकमा उत्रिनु स्वाभाविक भएको उल्लेख गर्दै आन्दोलनलाई शान्तिपूर्ण र संयमित राखिने बताएका छन्।
प्रकाशित मिति: १४ चैत्र २०८२, शनिबार












प्रतिक्रिया