काठमाडौं। प्रहरी प्रधान कार्यालयले देशभरका प्रहरी कर्मचारीलाई तत्काल बिदा नदिन निर्देशन दिएको छ ।

प्रहरी प्रधान कार्यालयको प्रशासन शाखाले शनिबार सबै मातहतका निकायलाई परिपत्र गर्दै प्रसूति र किरिया बिदाबाहेक अन्य कुनै पनि बिदा नछाड्न र सिफारिस नगर्न निर्देशन दिएको हो ।

advertisement

शाखा अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तोष निरौलाले जारी गरेको पत्रमा भनिएको छ, “हालको अवस्थालाई मध्यनजर गरी सुरक्षा व्यवस्थापनमा प्रहरी परिचालन गर्नुपर्ने भएकाले अर्को आदेश नभएसम्म प्रसूति र किरिया बिदाबाहेक अन्य बिदा नछाड्न तथा सिफारिस नगर्न नगराउन हुन अनुरोध छ ।”

यसैगरी, बिदामा रहेका प्रहरी अधिकृतहरूलाई पनि अविलम्ब काममा फर्किन निर्देशन दिइएको छ । पत्रमा भनिएको छ, “हाल कार्यालय प्रमुखको जिम्मेवारीमा रही बिदामा बसेका प्रहरी अधिकृतहरूलाई अविलम्ब कार्यालयमा हाजिर हुने व्यवस्था मिलाउन हुन अनुरोध छ ।”

यो निर्देशन अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी प्रधान कार्यालय, सबै विभाग, ब्युरो, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, काठमाडौं उपत्यका प्रहरी कार्यालय र सबै प्रदेश प्रहरी कार्यालयलाई पठाइएको छ ।

प्रहरी प्रधान कार्यालयले यो कदम जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा शनिबार बिहान पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको विरोधमा नेकपा एमालेले देशभर विरोध प्रदर्शन गरिरहेको अवस्थालाई मध्यनजर गर्दै चालेको हो ।

प्रकाशित मिति: १४ चैत्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com