काठमाडौं। नेकपा (एमाले) का नेता विष्णु रिजालले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई हिन्दी  ‘नायक’ फिल्मको अनिल कपुर ले गरेको भूमिका जस्तो एक दिनको प्रधानमन्त्री बन्न नखोज्न चेतावनी दिएका छन् ।

सामाजिक सञ्जाल एक्समा टिप्पणी गर्दै रिजालले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउलाई ‘प्रतिशोधपूर्ण’ भन्दै बालेन शाह नेतृत्वको सरकार आफ्नो पथबाट विचलित भएको आरोप लगाएका छन् ।

advertisement

रिजालले लेखेका छन्, “हिन्दी ‘नायक’ फिल्मको अनिल कपुर एक दिनका लागि मुख्यमन्त्री भए जस्तै बालेन शाह एक दिनका लागि प्रधानमन्त्री भएका होइनन् । रास्वपाका नेताका रूपमा उनलाई जनताबाट पाँच वर्षको जनमत प्राप्त छ ।”

उनले अगाडि थपेका छन्, “चार पटक प्रधानमन्त्री भइसकेका, आफ्नै पार्टीभित्र भारी मतले हारेका र बुबाको काजकिरियाबाट भर्खरै निस्किएका ७५ वर्षीय केपी शर्मा ओलीलाई भोलिपल्ट कार्यालय नै खुल्दैन, उज्यालो नै हुँदैन, प्रलय नै भइहाल्छ जस्तो गरी जुन रूपमा धरपकड गरियो, यसले उनलाई आफ्नै सरकारको आयुप्रति विश्वास नरहेको देखाउँछ ।”

रिजालले यो घटनाले मुलुकमा गहिरो विभाजन, मुडभेड र अराजकता निम्त्याउने चेतावनी दिएका छन् । उनले गैरकानुनी कदमका विरुद्ध राजनीतिक तथा कानुनी प्रतिवाद हुने बताएका छन् ।

एमाले सचिवालय बैठकले संयम र सुझबुझका साथ सही निष्कर्ष निकालेको दाबी गर्दै रिजालले त्यसलाई आत्मसात् गर्न आग्रह समेत गरेका छन् ।

प्रकाशित मिति: १५ चैत्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com