काठमाडौं। नेकपा (एमाले) का नेता सुरेन्द्र पाण्डेले जेनजी आन्दोलनमा ७७ जनाको ज्यान गएको घटनालाई सामान्य नभएको बताउँदै पार्टीलाई जीवन सुम्पेका कार्यकर्तालाई सडकमा ओरालेर मुलुकलाई मुठभेडतर्फ धकेल्नु कसैको हितमा नरहेको बताएका छन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा एमालेले आजदेखि विरोध कार्यक्रम घोषणा गरेपछि सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै नेता पाण्डेले यस्तो धारणा राखेका हुन् ।
उनले लेखेका छन् :
“मैले अघिल्लो पोस्टमा राखेको धारणालाई अझ प्रष्ट पार्न चाहन्छु ।
केपी जी र मेरो राजनीतिक यात्रा उतारचढावले भरिएको छ ।
हामी एउटै पार्टीमा रह्यौं, अलग भयौं र कैयौं पटक गम्भीर मतभेद भए – यो लुकाउनुपर्ने कुरा होइन ।
तर आज म जे भन्दैछु, त्यो राजनीतिक पक्षधरताले होइन, एउटा जिम्मेवार नागरिकको रूपमा भन्दैछु ।
७७ जनाको ज्यान जानु मजाक होइन । त्यो पीडा वास्तविक छ र पीडित परिवारको न्यायको माग जायज छ ।
तर न्याय स्थापित प्रक्रियाबाट हुनुपर्छ, जहाँ आरोप र प्रमाणको सही परीक्षण होस् ।
केही व्यक्तिमाथि मात्र सबै सजाय थुपार्ने यो हतारो न्यायका लागि हो कि राजनीतिक सन्देशका लागि ?
मलाई नेकपा (एमाले) का कार्यकर्ताको चिन्ता छ ।
पार्टीलाई जीवन सुम्पेका ती हजारौं कार्यकर्तालाई सडकमा ओराल्नु र मुलुकलाई मुठभेडतर्फ धकेल्नु कसैको हितमा छैन ।
त्यसैले न्याय होस् – तर निष्पक्ष र प्रक्रियागत ।”
नेता पाण्डेले ओलीसँग आफ्नो सम्बन्धमा उतारचढाव रहे पनि अहिलेको मुद्दालाई निष्पक्ष रूपमा हेर्नुपर्नेमा जोड दिएका छन् ।
प्रकाशित मिति: १५ चैत्र २०८२, आइतबार













प्रतिक्रिया