काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको तेल सम्पदा आफ्नो नियन्त्रणमा लिने र रणनीतिक महत्वको खार्ग टापु कब्जा गर्न सक्ने बताएका छन् ।
फाइनान्सियल टाइम्ससँगको विशेष अन्तर्वार्तामा ट्रम्पले “इरानको तेल लिनु मेरो मनपर्ने कुरा हो” भन्दै यस्तो अभिव्यक्ति दिएका हुन् ।
ट्रम्पले खार्ग टापुबारे भन्छन्, “सायद हामी खार्ग टापु लिन्छौं, सायद लिँदैनौं । हामीसँग धेरै विकल्प छन् ।”
यो टापु इरानको तटबाट करिब २४ किलोमिटर टाढा पर्सियन खाडीमा अवस्थित छ र इरानको कच्चा तेल निर्यातको झण्डै ९० प्रतिशत यसै टापुको टर्मिनलबाट हुन्छ ।
यो बयान यस्तो बेला आएको छ जब मध्य पूर्वमा अमेरिका–इरान–इजरायलबीचको द्वन्द्व तीव्र बनेको छ ।
अमेरिकाले हजारौं सैनिक परिचालन गरिसकेको छ भने क्षेत्रमा सैन्य मुठभेड जारी छ ।
खार्ग टापु कब्जा गरेमा इरानको अर्थतन्त्र र इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सको मुख्य आम्दानी स्रोत ठप्प हुने र अमेरिकाले यसलाई रणनीतिक सैन्य आधार बनाउन सक्ने विश्लेषकहरूको आकलन छ ।
यसबीच विश्वव्यापी तेल बजारमा ठूलो अस्थिरता देखिएको छ ।
विगत एक महिनामा ब्रेन्ट क्रुडको मूल्यमा उल्लेख्य वृद्धि भएको छ ।
हाल ब्रेन्ट क्रुड प्रति ब्यारेल ११५ डलर आसपास पुगेको छ ।
ट्रम्पले इरानमा ‘सत्ता परिवर्तन’ को लक्ष्य पूरा भइसकेको दाबी गर्दै नयाँ समूहसँग वार्ता भइरहेको बताएका छन् ।
तर उनले चेतावनी पनि दिएका छन्, “वार्ता गर्दागर्दै बम बर्साउनुपर्ने स्थिति आउन सक्छ ।”
इरानका सैन्य कमान्डरहरूले कडा प्रतिक्रिया दिएका छन् ।
उनीहरूले अमेरिकी सेना जमिनमा उत्रिए “आगोको वर्षा” गर्ने चेतावनी दिएका छन् ।
पाकिस्तानले मध्यस्थताको भूमिका खेलिरहेको छ ।
अमेरिकाले पाकिस्तानमार्फत इरानलाई शान्ति योजना पठाएको छ भने इरानले होर्मुज स्ट्रेटमा आफ्नो अधिकार सुनिश्चित गर्नुपर्ने लगायत सर्त राखेको छ ।
हालैका दिनमा क्षेत्रमा भएका आक्रमणमा साउदी अरबको रियादस्थित अमेरिकी एयर बेसमा इरानी मिसाइल प्रहारबाट केही सैनिक घाइते भएका छन् ।
इजरायली आक्रमणबाट इरानका केही ऊर्जा केन्द्र प्रभावित भएका छन् ।
ट्रम्पको यो रणनीतिले मध्य पूर्वलाई ठूलो क्षेत्रीय युद्धतर्फ धकेल्ने जोखिम बढाएको छ ।
कूटनीतिक प्रयास सँगसँगै सैन्य तनावले विश्व अर्थतन्त्रलाई समेत प्रभावित पारिरहेको छ ।
प्रकाशित मिति: १६ चैत्र २०८२, सोमबार













प्रतिक्रिया