काठमाडौं। नेपाल–चीन सीमास्थित तातोपानी नाका मा चार दिनदेखि मालवाहक सवारी साधनको आवतजावत ठप्प भएको छ ।
नवनिर्वाचित सांसद हर्क साम्पाङले सामाजिक सञ्जालमा नाकाको अवरोधबारे चासो व्यक्त गरेपछि यो विषयमा सार्वजनिक ध्यान बढेको हो ।
तर, तातोपानी भन्सार कार्यालयले भने नाका बन्द नभएको स्पष्ट पारेको छ । भन्सार कार्यालयका सूचना अधिकारी तुलबहादुर पाण्डेका अनुसार सडक मर्मत र भौगोलिक कारणले यातायात अवरुद्ध भएको हो ।
पाण्डेले बताएअनुसार पछिल्लो तीन–चार दिनयता माथिबाट पहिरो खसेको र तल सडक खन्ने क्रममा जमिन धसिएका कारण बाटो बिग्रिएको छ । पछिल्लो समयमा परेको वर्षाले समस्या थप बढाएको छ । चिनियाँ पक्षको भूभागमा मालवाहक कन्टेनरहरू रोकिएका छन् ।
“यो कुनै नाकाबन्दी होइन, केवल सडक अवरुद्ध भएको हो,” सूचना अधिकारी पाण्डेले भने, “सडक मर्मतको काम भइरहेको छ र आज साँझसम्म बाटो खुल्ने सम्भावना छ ।”
उनले सामाजिक सञ्जालमा फैलिएका भ्रामक हल्लाको पछि नलाग्न पनि आग्रह गरेका छन् ।
तातोपानी नेपाल–चीन व्यापारको महत्वपूर्ण नाका हो । सडक खुल्नासाथ मालसामानको ओसारपोसार सामान्य हुने भन्सार कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: १६ चैत्र २०८२, सोमबार













प्रतिक्रिया