काठमाडौं। इरान–इजरायल–अमेरिका द्वन्द्वमा मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेका पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दारको काँध भाँचिएको छ ।

घटना आइतबार (मार्च २९) पाकिस्तानको राजधानी इस्लामाबादमा विदेश मन्त्रालयको कार्यालयमा भएको थियो ।

advertisement

इशाक दार इजिप्टका विदेशमन्त्री बदर अब्देलतीलाई स्वागत गर्न रातो कार्पेटमा हिंडिरहेका थिए ।

फोटो खिचाउने र हात मिलाउने क्रममा उनी चिप्लिएर लडेका थिए ।

लडाइँका क्रममा उनको काँध र खुट्टामा चोट लागेको थियो । उनका छोरा अली दारले इन्स्टाग्राममा पोस्ट गर्दै बुबाको काँधमा हेयरलाइन फ्र्याक्चर (सानो दरार) भएको जानकारी दिएका छन् ।

अली दारले लेखेका छन्, “आज इजिप्टका विदेशमन्त्रीलाई स्वागत गर्दा लागेको चोटका बाबजुद पनि इशाक दार साहिबले दुखाइ कम गर्ने औषधि खाएर दिनभरि सबै महत्वपूर्ण बैठकहरूमा सहभागिता जनाउनुभयो ।”

उनले थप बताएका छन्, “एक्स–रे अनुसार समग्रमा अवस्था ठीक छ तर काँधमा हेयरलाइन फ्र्याक्चर देखिएको छ ।

आगामी केही दिन औषधि र आवश्यक सावधानी अपनाएर दुखाइ नियन्त्रण गरिनेछ । सबैको प्रार्थना र शुभकामनाप्रति धन्यवाद ।”

हेयरलाइन फ्र्याक्चर भनेको हड्डीमा भएको अत्यन्त पातलो र सानो दरार हो ।

यसले हड्डीलाई पूरै दुई टुक्रा बनाउँदैन तर यदि बेवास्ता गरियो भने ठूलो फ्र्याक्चरमा बदलिन सक्छ ।

सामान्यतया यस्तो चोट निको हुन ४ देखि ८ हप्तासम्म समय लाग्न सक्छ ।

यो घटना यस्तो बेला भएको हो जब पाकिस्तान इरान युद्धमा मध्यस्थताको प्रयास गरिरहेको छ ।

पाकिस्तानले इरान, अमेरिका र इजरायलबीच शान्ति स्थापना गर्न महत्वपूर्ण भूमिका खेल्ने प्रयास गरिरहेको छ ।

इस्लामाबादले अमेरिकाको १५ बुँदे शान्ति प्रस्ताव इरानलाई बुझाएको छ र दुवै पक्षबीच अप्रत्यक्ष वार्ता सहज बनाउने काम गरिरहेको छ ।

मार्च २९ मा पाकिस्तानले साउदी अरेबिया, टर्की र इजिप्टका विदेशमन्त्रीहरूसँग संयुक्त बैठक आयोजना गरेको थियो ।

उक्त बैठकमा इरान द्वन्द्वलाई शान्त पार्ने र क्षेत्रीय तनाव कम गर्ने विषयमा छलफल भएको थियो ।

विदेशमन्त्री इशाक दारले बैठकपछि पाकिस्तानले छिट्टै अमेरिका र इरानबीच वार्ता आयोजना गर्न सकिने सम्भावना रहेको बताएका थिए ।

पाकिस्तानले युद्ध सुरु भएयता तटस्थ रहेको दाबी गर्दै आए पनि मध्यस्थकर्ताको रूपमा सक्रिय भूमिका निर्वाह गरिरहेको छ ।

क्षेत्रीय शान्ति प्रयासमा पाकिस्तानको यो सक्रियता अन्तर्राष्ट्रिय स्तरमा आफ्नो कूटनीतिक महत्व बढाउने प्रयासका रूपमा पनि हेरिएको छ ।

प्रकाशित मिति: १६ चैत्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com