काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अरब देशहरूलाई इरानविरुद्धको चलिरहेको युद्धको खर्च वहन गर्न आग्रह गर्न सक्ने संकेत दिएका छन्।
ह्वाइट हाउसको प्रेस ब्रिफिङमा सोमबार ट्रम्पकी प्रवक्ता क्यारोलाइन लेभिटलाई १९९०–९१ को खाडी युद्धमा जस्तै अरब देशहरूले युद्धको खर्च उठाउनुपर्ने हो ? भन्ने प्रश्न सोधिएको थियो।
जवाफमा लेभिटले भनिन्, “मलाई लाग्छ यो त्यस्तो विषय हो जसमा राष्ट्रपति निकै रुचि राख्नुहुन्छ। म उहाँभन्दा अघि केही भन्न चाहन्नँ, तर यति भने भन्न सक्छु कि यो कुरा उहाँको दिमागमा छ र छिट्टै उहाँबाट थप कुरा सुन्न सकिनेछ।”
प्रवक्ता लेभिटले अमेरिकाले इरानमा हालसम्म ११,००० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण गरिसकेको पनि बताइन्। उनले राष्ट्रपति ट्रम्पले इरानमा सैनिक पठाउने सम्भावनालाई अस्वीकार नगरेको तर वार्तालाई नै पहिलो प्राथमिकता दिइरहेको स्पष्ट पारिन्।
१९९० को खाडी युद्धमा साउदी अरेबिया, कुवेत र संयुक्त अरब इमिरेट्स जस्ता देशहरूले अमेरिकी सैन्य अभियानको ठूलो हिस्सा खर्च बेहोरेका थिए। अहिले पनि ट्रम्प प्रशासनले त्यस्तै खर्च बाँडफाँडको मोडेललाई विचार गरिरहेको देखिन्छ।
प्रकाशित मिति: १७ चैत्र २०८२, मंगलबार











प्रतिक्रिया