काठमाडौं। संघीय संसद् सचिवालयले संसद्को अधिवेशन आह्वान भएसँगै तयारीका लागि सर्वदलीय बैठक बोलाएको छ।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार प्रतिनिधित्व गर्ने सबै दलहरूलाई भोलि बुधबार अपराह्न १ः०० बजे सर्वदलीय बैठक का लागि आमन्त्रण गरिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसअनुसार यही चैत १९ गते अपराह्न २ः०० बजे संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ। सोही अनुसार पहिलो बैठक पनि चैत १९ गते अपराह्न २ः०० बजे बस्दैछ।
सर्वदलीय बैठकले सभामुख र उपसभामुखको निर्वाचन प्रक्रिया अघि बढाउने छ। बैठकमा सबै दलका प्रतिनिधि, सरकारका प्रतिनिधि र संघीय संसद् सचिवालयका अधिकारीहरू सहभागी हुनेछन्।
नयाँ प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी सबैभन्दा ठूलो दल बनेको छ भने नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा छन्। श्रम संस्कृति पार्टी पहिलो पटक संसद् प्रवेश गर्दै पाँचौं दल बनेको छ। प्रतिनिधिसभामा ६ दलले राष्ट्रिय मान्यता पाएका छन् भने एक स्वतन्त्र सांसद पनि निर्वाचित भएका छन्।
प्रकाशित मिति: १७ चैत्र २०८२, मंगलबार











प्रतिक्रिया