काठमाडौं । सरकारले विरोध गर्ने स्ट्याट्स लेखेको आरोपमा जेन–जी रेड फोर्सकी संयोजक स्मृति तिमिल्सिनालाई प्रहरीले चार घण्टा सोधपुछ गरेर छाडेको छ।
स्मृतिले भनिन्, ‘म अनामनगरमा थिएँ, केही व्यक्तिहरू आएर ‘हामी पनि कम्युनिष्ट विचारधारा राख्छौं, तपाईंको अन्तरवार्ता लिनुपर्छ’ भने। मैले म बोल्दिन भनेँ, तर जबर्जस्ती गरेर गाडीमा राखे। गाडीमा बसेपछि मात्रै उनीहरूले आफू प्रहरी भएको बताए र मलाई प्रहरी कार्यालय लगाए।’
उनका अनुसार, प्रहरी कार्यालयमा उनलाई सरकारविरुद्ध नबोल्ने लिखित सम्झौता गराएर दिइएको थियो। स्मृतिले थपिन्, ‘मैले सरकारविरुद्ध कुनै अभिव्यक्ति दिएको थिइनँ। मैले नेपालमा फ्रि–तिब्बतको नारा लगाउन नहुने, चीन–नेपाल सम्बन्धमा असर पर्न सक्ने भन्दै व्यवहारिक तर्क राखेको थिएँ।’
काठमाडौं प्रहरीका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार, स्मृतिले आफ्नो डिजिटल प्लेटफर्ममार्फत दुई देशबीचको सम्बन्धमा असर पार्ने खालको अप्रमाणित सूचना सार्वजनिक गरेकी थिइन्। चीन–नेपाल नाकाबन्दीसम्बन्धी कुरा उल्लेख भएकाले उनको धारणा बुझ्न प्रहरीले सोधपुछ गरेको हो।
प्रकाशित मिति: १७ चैत्र २०८२, मंगलबार













प्रतिक्रिया