काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक ले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्व गृहमन्त्री रमेश लेखक को गिरफ्तारीलाई प्रतिशोधपूर्ण र बदला–प्रेरित भन्दै त्यसविरुद्ध भएका शान्तिपूर्ण आन्दोलनमाथि सरकारले गरेको दमनको घोर भर्त्सना गरेको छ।
बैठकले आन्दोलनलाई प्रभावकारी बनाउन विभिन्न चरणबद्ध कार्यक्रमहरू घोषणा गरेको छ। जसअनुसार चैत २५ गतेसम्म जिल्ला तहमा बृहत भेला, चैत २८ गते सबै पालिकामा विरोध प्रदर्शन, वैशाख ३ गते वडा तहमा भेला, वैशाख ७ गते प्रदेश राजधानीहरूमा प्रदर्शन तथा वैशाख १२ गते राजधानीमा विशाल विरोध प्रदर्शन गर्ने निर्णय गरिएको छ।
त्यसैगरी, विद्यार्थी तथा पेशागत संगठनहरूलाई समेत सक्रिय बनाउँदै आन्दोलनलाई सशक्त बनाउन आ–आफ्नो ढंगले कार्यक्रम सञ्चालन गर्न आह्वान गरिएको छ। जनसंगठन संयन्त्रको बैठक भोलि बिहान ११ बजे पार्टी कार्यालयमा बस्ने जनाइएको छ।
सर्वपक्षीय नागरिक संवादका लागि उपाध्यक्ष रघुजी पन्त, उपमहासचिव योगेश भट्टराई र केन्द्रीय सदस्य मीनबहादुर शाहीलाई जिम्मेवारी दिइएको छ।
यस्तै, संसदभित्र दलहरूसँग सहकार्य र प्रभावकारी प्रस्तुति गर्न उपाध्यक्ष राम बहादुर थापा र सचिव पद्मा अर्याल लाई जिम्मेवारी तोकिएको छ। संसदीय दलको सचिवालय बैठक भोलि दिउँसो ३ बजे पार्टी कार्यालयमा बस्ने जनाइएको छ।
आन्दोलनका थप कार्यक्रम तय गर्न छिट्टै पार्टी केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णयसमेत गरिएको एमालेले जनाएको छ।
प्रकाशित मिति: १७ चैत्र २०८२, मंगलबार













प्रतिक्रिया