काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत १७ चैतमा उमेर हदका कारण अवकाश पाएपछि वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल कायममुकायम प्रधानन्यायाधीश बनेकी छन्। संविधानको व्यवस्था अनुसार प्रधानन्यायाधीशको पद रिक्त हुँदा वरिष्ठतम न्यायाधीशले स्वतः जिम्मेवारी सम्हाल्ने प्रावधान छ।
नयाँ प्रधानन्यायाधीश नियुक्ति भने अझै अन्योलमै छ। न्याय परिषद्ले सर्वोच्चका ६ जना वरिष्ठ न्यायाधीशहरूको नाम संवैधानिक परिषद्मा पठाइसकेको भए पनि परिषद्को बैठक बस्न नसक्दा प्रक्रिया अघि बढ्न सकेको छैन। हाल परिषद् अपूर्ण अवस्थामा रहेको छ, जहाँ प्रधानमन्त्री, राष्ट्रियसभा अध्यक्ष र कामु प्रधानन्यायाधीश मात्र सदस्य छन् भने अन्य पदहरू रिक्त छन्।
संसदीय सुनुवाइ समिति पनि अझै पूर्ण गठन हुन सकेको छैन। हाल राष्ट्रियसभाका तीन सदस्य मात्र रहेको समितिमा प्रतिनिधिसभाबाट सदस्य चयन हुन बाँकी छ। संवैधानिक व्यवस्था अनुसार परिषद्ले सिफारिस गरेको व्यक्तिको संसदीय सुनुवाइपछि राष्ट्रपतिबाट नियुक्ति हुने प्रावधान छ।
प्रतिनिधिसभाको पहिलो बैठक १९ चैतका लागि तय भइसकेको छ। अब सभामुख र उपसभामुख चयन प्रक्रिया कहिले सुरु हुन्छ भन्ने कुराले प्रधानन्यायाधीश नियुक्तिको समय निर्धारण गर्नेछ।
वरिष्ठ अधिवक्ता समेत रहेकी सपना प्रधान मल्ल लामो समयदेखि कानुन क्षेत्रमा सक्रिय रहँदै दोस्रो संविधानसभाको सदस्यसमेत बनेकी थिइन्।
प्रकाशित मिति: १८ चैत्र २०८२, बुधबार













प्रतिक्रिया