काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा एक महिनाभित्र सार्वजनिक गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको छ। प्रधानमन्त्री बालेन शाहसँग परामर्शपछि यो निर्णय गरिएको मन्त्रालयले जनाएको छ।

निर्देशअनुसार, बोर्डले परीक्षा केन्द्रबाटै उत्तरपुस्तिका परीक्षण गरी एक महिनाभित्र नतिजा घोषणा गर्ने व्यवस्था मिलाएको छ। सरकारले विद्यार्थीमा अनावश्यक तनाव नहोस् भन्ने उद्देश्यले नतिजा छिटो सार्वजनिक गर्न लागेको हो।

advertisement

सरकारका प्रवक्ता समेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेलले भने, ‘पहिलेभन्दा अहिले प्रविधि धेरै फरक भएको छ। विद्यार्थीलाई नतिजाका लागि तीन महिनासम्म किन कुर्नु? तीन महिनासम्म पर्खँदा उनीहरू तनावमा पर्छन्। एक महिनाभित्र मात्रै होइन, आवश्यक परे अझ छिटो पनि गर्न सकिन्छ।’

मन्त्री पोखरेलका अनुसार ७७ वटै जिल्लाका शिक्षा एकाइहरूले एक महिनाभित्र नतिजा निकाल्न सक्ने सुझाव दिएका छन्। यसै कारण सरकारले अनावश्यक तयारी कक्षाहरू रोक्दै विद्यार्थीलाई उनीहरूको रुचि अनुसार सिक्न पाउने वातावरण सिर्जना गर्ने नीति अघि सारेको छ। ‘विद्यार्थीले खेलकुद, संगीत वा अन्य रुचिका अनुसार अध्ययन गर्न सक्नेछन्,’ उनले थपे।

त्यसैगरी, नतिजा मात्र होइन, डाटा इन्ट्री र पुन: प्रयोगसम्बन्धी काम पनि परीक्षा केन्द्रबाटै कसरी गर्न सकिन्छ भन्नेबारे छलफल भइरहेको उनले बताए।

अर्कोतर्फ, आगामी शैक्षिक सत्रदेखि एसईईको सञ्चालन संघ, प्रदेश वा स्थानीय तहमध्ये कसले गर्ने भन्ने विषयमा पनि छलफल भइरहेको छ। मन्त्री पोखरेलले भने, ‘संविधान अनुसार १२ कक्षासम्म स्थानीय तहमा जिम्मेवारी आएको छ। तर सल्लाह गर्दा प्रदेशले गर्ने उपयुक्त हुने सुझाव आएको छ, यसबारे अझै छलफल भइरहेको छ।’

प्रकाशित मिति: १८ चैत्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com