बझाङ। बझाङको जयपृथ्वी नगरपालिका–१ कैलासमा रहेकाे मालिका हातेकागज उद्योग पुनः सञ्चालन गर्न तथा त्यससँग सम्बन्धित आर्थिक अनियमितताको छानबिन गर्न जेनजी अभियन्ता सुनिल सिंहले माग गरेका छन्।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सम्बोधन गरी पेश गरिएको निवेदनमा उक्त उद्योग स्थानीय सीप, स्रोत र पहिचानसँग जोडिएको महत्वपूर्ण हस्तकला केन्द्र भएको उल्लेख गरिएको छ। निवेदनमा भनिएको छ, यहाँ उत्पादन हुने हातेकागज गुणस्तरका हिसाबले उत्कृष्ट रहँदै आएको र यसले स्थानीय स्तरमा रोजगारी सिर्जना, आयआर्जन तथा पहिचान निर्माणमा उल्लेखनीय योगदान पुर्याएको थियो ।
तर हाल उद्योग पूर्ण रूपमा बन्द अवस्थामा पुगेको भन्दै अभियन्ता सुनिल सिंहले यसले स्थानीय जनताको जीविकोपार्जनमा गम्भीर असर पारेको बताएका छन्। यति महत्वपूर्ण उद्योग जोगाउन सम्बन्धित निकायको ध्यान पर्याप्त रूपमा नपुगेको पनि उनको भनाइ छ।
निवेदनमा उद्योग सञ्चालनका क्रममा जनताबाट उठाइएको रकमको प्रयोगमा गम्भीर अनियमितता भएको आशंका व्यक्त गरिएको छ। यस सम्बन्धमा हालसम्म पारदर्शी हिसाबकिताब सार्वजनिक नगरिएको भन्दै उनले निष्पक्ष र पारदर्शी छानबिन गर्न माग गरेका छन्।
सिंहले उद्योग पुनः सञ्चालनका लागि ठोस कार्ययोजना ल्याउन, आर्थिक कारोबारको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन तथा उद्योगलाई दिगो रूपमा सञ्चालन गर्न आवश्यक बजेट, प्रविधि र व्यवस्थापन सुनिश्चित गर्न पनि आग्रह गरेका छन्। साथै भविष्यमा यस्ता अनियमितता दोहोरिन नदिन कडा अनुगमन र उत्तरदायित्वको व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन्।
प्रकाशित मिति: १८ चैत्र २०८२, बुधबार












प्रतिक्रिया