काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध छिट्टै अन्त्य हुन सक्ने संकेत दिएपछि विश्व बजारमा कच्चा तेलको मूल्य घटेको छ। बिहीबार बिहान ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल १.१६ डलरले घटेर १०० डलर पुगेको छ भने अमेरिकी वेस्ट टेक्सस इन्टरमिडिएट (WTI) १.४१ डलरले घट्दै ९८.७१ डलरमा कारोबार भइरहेको छ।
रोयटर्ससँगको कुराकानीमा ट्रम्पले अमेरिका इरानसँगको द्वन्द्व “छिट्टै” अन्त्य गर्ने तयारीमा रहेको बताएपछि लगानीकर्ताहरूमा सकारात्मक संकेत देखिएको हो। विश्लेषकहरूका अनुसार ट्रम्पको आगामी सम्बोधनमा नरम नीति आउने अपेक्षाले बजारमा बिक्री दबाब बढ्दा तेलको मूल्य घटेको हो।
आइजी मार्केटका विश्लेषक टोनी साइकामोरले इरान द्वन्द्व अन्त्य हुने आशामा लगानीकर्ताहरूले तेल बेच्न थालेको बताएका छन्। तर उनले स्ट्रेट अफ होर्मुजमा सुरक्षित आवतजावत सुनिश्चित नहुने भन्दै जोखिम अझै कायम रहेको चेतावनी दिएका छन्।
यसबीच क्षेत्रीय तनाव भने पूर्ण रूपमा कम भएको छैन। बुधबार कतार इनर्जीले भाडामा लिएको एक तेल ट्याङ्करमा इरानले क्रुज मिसाइल प्रहार गरेको घटनाले समुद्री ढुवानीमा थप जोखिम बढाएको छ।
अर्कोतर्फ, अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (IEA) का प्रमुखले युद्धअघि भएका सम्झौताका कारण हालसम्म जोगिएको युरोपेली अर्थतन्त्रमा अप्रिलदेखि तेल आपूर्तिको कमीले असर पर्न सक्ने चेतावनी दिएका छन्।
विज्ञहरूका अनुसार औपचारिक युद्धविराम सम्झौता नभएसम्म र ऊर्जा पूर्वाधार सुरक्षित नभएसम्म कच्चा तेलको मूल्यमा अस्थिरता जारी रहनेछ।
प्रकाशित मिति: १९ चैत्र २०८२, बिहिबार












प्रतिक्रिया